कोषाध्यक्षमा देउवाले ‘हेरेका’ तीन पात्रः विनोद चौधरी, उमेश श्रेष्ठ र चित्रलेखा यादव

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी चुनिइसकेका छन् । कांग्रेसमा पदाधिकारी संख्या भने १४ हो । अब कोषाध्यक्ष मनोनयन भए पछि बल्ल कांग्रेस पदाधिकारीको टिमले पूर्णता पाउँछ ।

कांग्रेसमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सदस्यहरुमध्येबाट एक जनालाई सभापतिको सिफारिसमा कोषाध्यक्ष चयन गर्ने विधानमा उल्लेख गरिएको छ । यसअघि १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भए पछि देउवाले धनुषाकी सीतादेवी यादवलाई कोषाध्यक्षमा चयन गरेका थिए । यसपटक पनि कोषाध्यक्षमा उनी दोहोरिने सम्भावना थियो तर उनी केन्द्रीय सदस्यकी उम्मेदवार नै भइनन् ।

कांग्रेसको विधानले स्पष्टरुपमा निर्वाचित केन्द्रीय सदस्यबाट कोषाध्यक्ष तोक्ने आधार राखेको छ । त्यसैले अब हुने कोषाध्यक्ष अहिलेसम्म निर्वाचित सदस्यबाट नै हुनु पर्छ । 

त्यसो भए सभापति देउवाले यसपटक कोषाध्यक्ष कसलाई बनाउँदै छन् त ?

यसका लागि केही आधारहरुबारे पहिले चर्चा गर्नु उचित हुन्छ । कांग्रेसमा जसले कोषाध्यक्षको जिम्मेवारी लिन्छ, उसले अर्थ विभागको नेतृत्व लिएकाले पार्टीका लागि आर्थिक स्रोत साधनको व्यवस्था गर्ने सामान्य बुझाइ छ ।

अबको एक महिनापछि कांग्रेस नेतृत्व सरकारले नै राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन गर्दै छ । प्रतिनिधिसभामा रिक्त भएका सिटमा पनि उपनिर्वाचन केही समयपछि हुने निश्चित छ । चार महिनापछि स्थानीय तहको निर्वाचन गर्ने पनि निर्वाचन आयोगको तयारी छ । आगामि मंसिरमा प्रदेश र संघको निर्वाचन पनि हुँदैछ ।



यसले गर्दा यसपटक नेपाली कांग्रेसको कोषाध्यक्षमा आर्थिक पाटोलाई राम्रोसँग व्यवस्थापन गर्ने नेतृत्वको आवश्यकता रहेको बुझाइ छ । यही सन्दर्भमा भर्खर १४ औं महाधिवेशन सकेको कांग्रेसमा को होला त कोषाध्यक्ष ?

हामीले यही प्रश्न कांग्रेसमा नवनिर्वाचित एक केन्द्रीय सदस्यलाई राख्यौँ । उनले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई नेताको नाम फ्याट्टै लिए– विनोद चौधरी र उमेश श्रेष्ठ ।



नेपालका बिलिनियर चौधरी १३ औं महाधिवेशनपछि नेपाली कांग्रेस प्रवेश गरेर १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुने ‘लक्की’ नेता हुन् । उनी मधेशी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । २०७४ सालमा नेपाली कांग्रेस प्रवेश गरेका चौधरीलाई कतिपयले नेपालका सबैभन्दा धनी व्यक्ति भनेर पनि टिप्पणी गर्छन् । कांग्रेस प्रवेश गरेपछि चौधरी प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग निकट रहेर काम गरिरहेका छन् ।

नजिकिएका निर्वाचनहरुमा आर्थिक व्यवस्थापन सहज होस् भन्नका लागि देउवाले चौधरीलाई कोषाध्यक्ष बनाउने सम्भावना बढी भएको कांग्रेसका ती नेताले बताए ।

‘खर्च चाहिएको यो समयमा चौधरीलाई सम्भावित कोषाध्यक्षका रुपमा हेरिनु ठिकै हो,’ ती नेताले भने, ‘र, सबैभन्दा प्रवल उम्मेदवार पनि उनै हुन् ।’

हुन पनि चौधरीले १४ औं महाधिवेशनमामा कांग्रेसको आर्थिक समितिलाई महाधिवेशन सम्पन्न गर्न २५ लाख आर्थिक सहयोगसमेत गरेका थिए ।

यही महाधिवेशनमा चौधरीको जति नै सहयोग गरेका कांग्रेसका अर्का नेता हुन्, उमेश श्रेष्ठ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठले देउवासँग निकट भएकाले नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि राज्यमन्त्रीको अनुभव सम्हालिसकेका छन् ।

आदिवासी जनजातिबाट केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठलाई पनि देउवाले पार्टीको कोषाध्यक्षको भूमिका दिन सक्ने ती नेताले बताए । ‘उहाँ पनि आर्थिक रुपमा बलियो मान्छे हो,’ ती नेताले भने, ‘केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ, उहाँ पनि कोषाध्यक्ष हुन सक्नुहुन्छ ।’

कोषाध्यक्षमा मनोनित हुने सम्भावनामा छिन्, चित्रलेखा यादव पनि । प्रदेश २ बाट महिला केन्द्रीय सदस्यमा उनी निर्वाचित भएसँगै उनको पनि कोषाध्यक्ष हुने सम्भावना बढेको हो । यसअघि पनि कांग्रेस कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेकी चित्रलेखालाई पनि देउवाले कोषाध्यक्षमा मनोनयन गर्न सक्छन् । यसअघि १२ औं महाधिवेशन पछि उनलाई तत्कालीन सभापति सुशील कोइरालाले कोषाध्यक्षमा मनोनित गरेका थिए ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १९:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया