क्रिकेट रंगशाला निर्माणबाट यसकारण पछि हट्यो धुर्मुस सुन्तली फाउन्डेसन
फरकधार / ८ पुस, २०७८

योजना अनुसार काम अघि बढेको भए अहिले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल भइरहेको हुन्थ्यो । नेपाली दर्शकले नेपालका क्लबहरुबीच वा कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा रंगशालामा बसेर हेरिरहेका हुन्थे । 



तर बिडम्बना, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अहिले रोकिएको छ । रोकिएको मात्र होइन, निर्माणको जिम्मेवारी लिई कार्य गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले त्यसबाट हात झिकेको छ । 

धुर्मुस सुन्तली फाउन्डेसन निर्माण जिम्मेवारीबाट पछि हट्नुको कारण हो– आवश्यक बजेटको अभाव र फाउन्डेसन रंगशाला निर्माणका क्रममाः ऋणमा डुब्दै जानु । 



२०७५ माघ १६ गते चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाको घोषणा गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा यो परियोजनाको घोषणा गरिएको थियो ।



घोषणा गरेको एक साता नबित्दै कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७५ माघ २० गते आफैले डोजर चलाएर रंगशाला निर्माणको सुरुवात गरेका थिए । 

सुरु गरेको दुई वर्ष भित्र रंगशालाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि रंगशालाले पूर्णता पाउन सकेन । बरु, उल्टै यसको निर्माण कहिले सकिने भन्नेमा अन्योलता छाएको छ । 

आफूले निर्माण गर्न नसक्ने भएपछि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशालाको जिम्मेवारी लिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेका छन् । फाउन्डेसनले आफू ऋणमा डुबेको जनाउँदै जिम्मेवारी लिन पत्र लेखी अनुरोध गरेको हो । 

‘फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं.८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड–१९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक अभाव भएकोले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाई भएको छ,’ आर्थिक अभावका कारण पाँच महिनादेखि रंगशाला निर्माण कार्य रोकिएपछि फाउण्डेसलने यसै साता भरतपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ ।
 
धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणबाट पछि हट्ने निर्णय गरेपछि धेरैले धेरैथरी प्रतिक्रिया जनाएका छन् । कसैले कलाकार धुर्मुस–सुन्तली प्रति सहानुभूति व्यक्त गरेका छन् कतिले उनीहरुको आलोचना पनि गरेका छन् । केहीले त ‘कलाकार भएर कलाकारिता गर्ने हो, विकास निर्माणमा हात हालेपछि कहीं सफल भइन्छ’ भन्ने सम्मका प्रतिक्रिया दिएका छन् । 

‘कृषि विश्वविद्यालयको जग्गामा क्रिकेट रंगशाला बनाउने अवधारणा नै गलत थियो । रंगशालामा अहिलेसम्म लागेको ५४ करोड रुपैयाँ त्यही कृषि अध्ययन अनुसन्धानमा खर्च गरिएको भए एक खालको कायापलट भइसक्थ्यो । कतिले रोजगार पाइसक्थे । नेपालको परनिर्भरता थोरै भए पनि घट्थ्यो,’ नेपाली फिल्म निर्देशक दिपेन्द्र लामाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अर्को कुरा, नेपालको क्रिकेट स्तर नबढेको रंगशाला नभएर होइन, सही किसिमको प्रशिक्षण र दीर्घकालीन रणनीति नभएर हो । अब त्यो रंगशालालाई क्रिकेट एकेडेमीमा परिणत गरिए बुद्धिमानी हुनेछ ।’ 

यसरी भएको थियो सुरुवात 

नेपालमा क्रिकेट खेलले गति लिंदै गर्दा खेल्ने रंगशालाको अभाव महशुष गरिएको थियो । मूलपानीस्थित क्रिकेट रंगशाला निर्माण सुरु गरेको बर्षौं बित्दा पनि पुरा हुन सकेको थिएन र अहिलेसम्म पनि छैन । 

नेपालमा जति पनि खेल अन्तर्राष्ट्रिय खेल हुन्छन् तयो त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रंगशालामा मात्र हुने गरेको थियो । यही अभावलाई महशूष गरी धुर्मुस सुन्तली फाउन्डेसनले वहुउपयोगी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाउने घोषणा गरेको थियो । 

यसैअनुरुप २०७५ माघ १६ गते राज्यपनि सहभागी हुने गरी चितवनको रामपुरमा रंगशाला बनाउने घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु सहभागी भएका थिए । 

फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणको लागि जग्गा प्राप्ति सम्बन्धि सम्झौता भएको थियो । सम्झौतामा भरतपुर नगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले हस्ताक्षर गरेका थिए । 

क्रिकेट रंगशाला बनाउन त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा रहेको जग्गा दिइएको थियो । उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । 

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने क्रिकेट रंगशाला निर्माणको लागि तीन अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमानका साथ काम सुरु गरिएको थियो । २०७५ माघ २० गते धुर्मुस र सुन्तलीले संयुक्त रुपमा डोजर चलाई निर्माण कार्यको सुरुवात गरेका थिए । 

निर्माणको लागि आवश्य पर्ने रकम देश विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिने योजना बनाइएको थियो । सुरुमा फाउन्डेसनसँग रहेको २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्चिने गरी निर्माण कार्य अघि बढाइएको थियो । 

रकम उठाउन सकस 

निर्माण सुरु गर्दाका केही महिना त देश विदेशमा रहेका नेपालीले रंगशाला निर्माणको लागि भन्दै रकम उठाउँदै फाउन्डेसनलाई पठाउने गरेका थिए । 

दिन बित्दै जाँदा रकम उठ्ने गति सुस्ताउन थाल्यो । निर्माणको गति जति बढ्दै थियो रकम आउने क्रम घट्दो थियो । रकम उठाउनको लागि महायज्ञ पनि गरियो । महायज्ञमा क्रिकेट रंगशाला निर्माणको लागि बिभिन्न व्यत्ति तथा संस्थाले ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । तर यो रकम घोषणामै सिमित रह्यो । घोषणा गरेकोमध्ये सानो रकम मात्र फाउन्डेसनसम्म आइपुग्यो । 

रकम उठ्न छोडेपछि गत भदौ महिनामा फाउन्डेसनले आर्थिक अभावका कारण निर्माण कार्य रोक्ने निर्णय पत्रकार सम्मेलन मार्फत सुनायो । त्यसपछि रंगशाला निर्माणको कार्य रोकियो । हाल रंगशालाको भौतिक पूर्वाधार निर्माण कार्य ३५ प्रतिशत सकिएको दाबी फाउन्डेसनले गरेको छ । हालसम्म रंगशाला निर्माणमा ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको हिसाब फाउन्डेसनले सार्वजनिक गरेको छ । फाउन्डेसनले रंगशाला निर्माण गर्दा १६ करोड ऋण लागेको दाबी समेत गरेको छ । 

हुँदाहुँदै फाउन्डेसनको अवस्था यस्तो नाजुक भयो की उसले आफ्नो विद्युत महशुल समेत तिर्न नसक्ने भयो । फाण्डेशनले विद्युत प्राधिकरणलाई ८ लाख ८७ हजार रुपैयाँ विद्युत महशुल बुझाउन नसकेपछि यही पुस ७ गते प्राधिकरणको भरतपुर वितरण केन्द्रले फाउन्डेसनको विद्युत काटिदिएको छ । 

किन भएन सफल ?

धुर्मुस सुन्तली फाउन्डेसनको ठूलो सपना थियो– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने । अब त्यो सपना उनीहरुको हातबाट फुस्की सकेको छ । 

आर्थिक अभाव भएपछि फाउण्डेसनले निर्माणको जिम्मेवारी लिन भरतपुर महानगरपालिकालाई अनुरोध गरिसकेको छ । महानगरपालिका जिम्मेवारी लिन सकारात्मक समेत देखिएको छ । फाउन्डेसनले रंगशाला निर्माणको मात्र होइन लागेको ऋण समेत मिनाह गर्न सरकारलाई अनुरोध गरेको छ । यसमा पनि सरकार सकारात्मक नै देखिएको छ । 

फाउन्डेसन निर्माणबाट पछि हट्दै गर्दा अहिले एउटा प्रश्न उठेको छ– यति ठूलो तामझामका साथ सुरु गरिएको योजना किन सफल हुन सकेन ? 

यसमा केही कारण छन् । पहिलो, कुनै पनि योजना सफल बनाउन सबैभन्दा महत्वपूर्ण मानिन्छ बजेट । हो, यो योजना बिना बजेट सुरु गरिएको थियो । यति ठूलो योजना बिना बजेट सुरु गर्दा भविष्यमा के कस्ता अप्ठेरा आउँछन् भन्नेतर्फ कसैको ध्यान नै गएन । 

३ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशाला चन्दा उठाएको भरमा बनाउँछु भन्नु र सुरु गर्नु पत्यारिलो थिएन । तर उनीहरुले जुन साहस गरे त्यो भने प्रशसनिय छ, जसलाई नेपाली खेलप्रेमी मात्र होइन जनताले पछिसम्म सम्झनेछन् । 

फाउन्डेसन असफल हुनुको अर्को कारण हो– कोरोना महामारी । जब यो रंगशाला निर्माण सुरु भयो त्यसपछि विश्वलाई कोरोना महामारीले लपेट्यो । देशहरु लामो समय लकडाउनमा रहे । आर्थिक गतिविधि रोकिए । मानिसको आयआर्जन घट्यो । जसले स्वस्फुर्त रुपमा फाउन्डेसनलाई आइरहेको रकम समेत रोकिन पुग्यो । 

आर्थिक संकलन गर्ने सबै बाटाहरु बन्द भएपछि अन्ततः धुर्मुस–सुन्तलीले रंगशाला निर्माणको जिम्मेवारी भरत महानगरपालिकालाई सुम्पने निर्णय गरे । रंगशाला निर्माणबाट आफूहरु पछि हटे पनि निर्माण कार्य अघि बढ्नेमा उनीहरु विश्वस्त छन् ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १९:५:३३,   अन्तिम अपडेट : पुस ८, २०७८ बिहीबार २३:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया