ओलीप्रति प्रचण्डको कटाक्ष– आगोसँग खेल्दा बालुवाटारबाट बालकोट र ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरु अझैपनि षडयन्त्रकै प्रक्रियामा रहेको बताएका छन् ।  

शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको जनाए । 

राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने समेत उनले बताए । कम्युनिष्ट पार्टीहरुबीचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उनको धारणा थियो । 

‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरु अहिले पनि प्रतिक्रिया र षडयन्त्रकै प्रक्रियामा छन् । त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरु एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा रिल्याक्स गर्नुहुने स्थिति छैन । हामीले पुरै मेहनतका साथ अगाडी जानु छ । त्यसको निम्ति कम्युनिष्टहरू बिचको एकता सबभन्दा ठुलो कुरा हो,’ प्रचण्डले भने । 

इमान्दार कम्युनिष्ट क्रान्तिकारीहरुबीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्व लिन सक्ने उनले बताए । उनले अगाडि भने, ‘त्यसको नेतृत्व अन्र्तगत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिहरूलाई हामीले गोलबन्द गर्न सक्नुपर्दछ । अनिमात्र प्रतिक्रान्तिको आँधी या हुरीलाई रोक्न सकिन्छ । क्रान्तिको एउटा नयाँ लहर सृष्‍टि गर्न सकिन्छ ।’ 

उनले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरूको सिला खोज्दै हिँडेको टिप्पणी गरे । 



‘हुन त अवसरवादीहरु अहिले गाउँ गाउँमा केही मान्छेको सिला खोज्दै हिंड्ने ग¥या छन् । तपाईहरुले देख्नुभयो होला । पार्टी प्रवेशका नाउँमा भन्दै गाउँ गाउँ तिर सिला खोज्दै । तर सुनारको सय चोट लोहारको एकै चोट भन्याजस्तो आज हामीले लोहारको चोट हान्यौँ । यो एकिकरण प्रक्रियाबाट कम्युनिष्ट आन्दोलनलाई एकिकरण गर्ने, कम्युनिष्ट आन्दोलनलाई विघटन र विर्सजन गर्न चाहाने अवसरवादी, विदेशी प्रतिक्रियावादीको अगाडी आत्मसमर्पण गर्ने तत्वहरूलाई एउटा चुनौती हामी यो हलबाट दिन चाहान्छौँ । तिमीहरूको षड्यन्त्र चल्ने छैन । नेपालका जनता, नेपालका क्रान्तिकारी कम्युनिष्टहरू सचेत छन् र सबैखाले चुनौतीको सामना गर्न तयार छन् । यो सन्देश यहाँबाट आज देशभरी र विश्वभरी प्रवाहित भएको छ,’ उनले भने । 

अध्यक्ष दाहालले नेकपा (एमाले)ले धाक दिदैँ हिँडेको भन्दै आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने टिप्पणी गरे । 



‘आगो सँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन् । उनीहरु त्यो धाक, धम्की मात्रै हो । आउने निर्वाचनमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन्,’ प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै भने ।  

अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको स्पष्ट पारे । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको समेत उनले जनाए । 

‘कुनै गठबन्धनका नेता र पार्टी सँग हाम्रो वैरभाव छैन । बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकिकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनैपनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहान्छु,’ उनले भने ।  

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बिच पार्टी एकिकरण भएको घोषणा गरिएको थियो । 

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १६:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया