बुटवलमा गुन्जियो नेपथ्य

बुटवल– देशव्यापी यात्रामा निस्केको नेपथ्यको तेस्रो प्रस्तुति बुटवलमा सम्पन्न भएको छ । नेपथ्यले सोमबार बेलुका बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्युट स्टेडियम’मा त्यस भेगका दर्शक–श्रोतालाई आफ्ना डेढ दर्जनजति गीतले आफूहरुसँग नचाए ।

कन्सर्ट चलिरहेको थियो, दर्शक उफ्रिरहेका थिए । गीतको बोल थियो, ‘गाउँ गाउँबाट उठ’ । त्यतिबेलै दुईवटामध्ये एउटा जेनरेटर अचानक बन्द भइदियो । त्यो जेनरेटरको सम्पर्क कार्यक्रमस्थलको माइकहरूसँग थियो । अर्थात्, माइकहरू अचानक थामिए ।

बुटवलमा नेपथ्य कन्सर्टले जगाइरहेको तीव्र संवेग अलिकता पनि प्रभावित हुन पाएन । किनभने, नेपथ्यका मुख्य गायक अमृत गुरुङको आवाज नपाए पनि झन्डै दुई मिनेटसम्म फुटबल मैदानमा जम्मा भएका करिब चार हजार दर्शकले एकोहोरो ‘गाउँ–गाउँबाट उठ’ का शब्दहरू चर्को स्वरमा गाइरहे । 

स्टेजमा बसेका अमृत भने तलबाट आएको गीत सुनेर हात हल्लाइरहे । दुई मिनेटमै बत्ती आयो र पूर्ववत् कार्यक्रम अघि बढ्यो । ‘सुरुमा अँत्यास लागेको थियो,’ गायक अमृत भन्छन्, ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शकबीचको सामीप्यले प्रविधिलाई पनि जितेको महसुस भयो ।’

‘हाम्रो कास्की जिल्लाले तपाईंहरूको बुटवललाई परम्परादेखि बटौली बजार भनेर चिन्दै आएको छ,’ गुरुङले कार्यक्रमको सुरुवातमै उल्लेख गरेका थिए, ‘यो सहर कुनै समय हामीले नुनको व्यापार गर्ने बाटो थियो । पहाडबाट नुन बोकेर आएका भरियाहरूले यस सहरमा भारी बेचेपछि माथि डाँडामा रहेका उनको परिवार र आफन्तका लागि किनमेल गरेर फर्कन्थे ।’ तिनै भरिया, नुनको बाटो र यो पुरानो बजारमा समर्पित हुँदै अमृतले सुनाए–



यानीमाया बटौलीको बजारैमा यानीमाया
यानीमाया चुरौटाको दोकान यानीमाया
यानीमाया कति किन्नु चुरा र धागो यानीमाया

‘चुरा र धागो किन्ने त्यतिबेलाको सानो बटौली बजार आजको यस्तो विस्तारित बुटवल बन्न पुगेको छ,’ अमृतले थपे, ‘यो सहर झनै फले–फुलेको हेर्न पाऊँ ।’



कार्यक्रम अघि बढ्दै गयो, दर्शकहरू पनि थपिँदै गए । त्यसै क्रममा अमृतले यात्रामै आधारित नेपथ्यको अर्को गीत ‘सालैजो’ सुनाए । यो गीतको उत्पत्ति बुटवलकै उत्तरी भेगमा पर्ने पहाडी क्षेत्रबाट भएको जानकारी पनि उनले दिए ।

‘लेकैको कुहिरो औंलै झ¥यो, आहै सालैजो, लाग्यो कुहिरो दिनभरि,’ यस्ता लाइनहरूले भरिएको गीत सुनाइसकेपछि अमृतले जानकारी दिए, ‘तपाईंहरूकै मास्तिर पर्ने गुल्मी जिल्लामा ट्रेकिङ गएको बेला यो गीत लेखेको थिएँ ।’

मैदानमा भरिएका चार हजार दर्शक भीडमा एन्फाले तालिम दिँदै गरेका फुटबल क्षेत्रकै भावी कर्णधारहरूको उपस्थिती थियो । अमृतले भने, ‘तपाईंहरू सबैको योगदान यस राष्ट्रका निम्ति भविष्यमा मूल्यवान् हुने विश्वास लिएको छु ।’ 

बुटवलमा नेपथ्यले यसअघि पनि आफूलाई पटकपटक प्रस्तुत गर्दै आएको छ । त्यसमा पनि विशेष गरेर द्वन्द्व र संक्रमणकालमा बारम्बार नेपथ्य यहाँ गुन्जियो । त्यो समयमा सुरक्षाकै कारण दिउँसो मात्र कन्सर्ट गर्न पाइन्थ्यो ।

कार्यक्रममा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो । धौलागिरी अथवा यस गीतले भन्ने धौलागिरि आसपासका बासिन्दा ओहोरदोहोर गर्ने गौंडा बुटवलले यो नयाँ गीतलाई जोडदार स्वागत गरेको थियो ।

त्यसपछि कार्यक्रमले फेरि ‘चरी मर्यो’, ‘जोमसोमै बजारमा’देखि अर्को नयाँ ‘कोसीको पानी यो जिन्दगानी’जस्ता गीतहरूको शृंखलामा प्रवेश गरेको थियो । 

दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरूको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन । पछिल्ला गीतहरूले मैदानको तापक्रम झनै उच्च बिन्दुमा पुर्याएको थियो । अन्तिममा ‘रातो र चन्द्रसूर्य’ सुनाउँदा फेरि दर्शकदीर्घाबाट अपार साथ पाएर यो यसका शब्दहरू श्रोताको ओठबाट निस्किरहेको देखिन्थ्यो । 

नेपथ्य टोलीको अबको प्रस्तुति धनगढीमा हुने भएको छ । धनगढीमा १३ मंसिरमा नेपथ्यले आफ्नो प्रस्तुति पस्किनेछ । 
 

  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार ९:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया