धनगढीमा कवाड सामग्री संकलन गरेर विद्यार्थीले बनाए विद्युतीय गाडी

धनगढीमा विद्यार्थीले इलेक्ट्रोनिक गाडी बनाएका छन् । दुई वर्षदेखिको रिसर्चका क्रममा रहेका विद्यार्थीले कवाड सामग्री बटुलेर इलेक्ट्रोनिक गाडी बनाएका हुन् ।

कक्षा ९ बाट १० मा गएका धनगढीका चार जना विद्यार्थीको समूहले गाडी तयार पारेका हुन् । चार जनाको समूहको नाम उनीहरूले ‘सारा अल्फा’ दिएका छन् । धनगढीको एक्सिस विद्याश्रममा अध्ययनरत ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी, सक्षम रेग्मीले गाडी तयार पारेका हुन् ।

उनीहरू सबै १६ वर्षमुनिका विद्यार्थी छन् । ‘कोरोनाले गर्दा सबैतिर बन्द थियो । चारै जना साथीहरूमा छलफल गर्दै जाँदा हामीहरू गाडी बनाउने सोचमा पुग्यौँ । त्यसपछि बनाउन सुरु गरेको हो’ विद्यार्थी ऋषिकेश थापाले भने, ‘गाडी बनाउने विभिन्न गाडीका खेर गएका पार्टपुर्जा प्रयोग गरेर सुरु गरेका हौँ ।’

घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो गाडी निमार्ण गरेको उनीहरूको भनाइ छ । ‘लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौँ', थापाले भने, ‘यो अवधिमा धेरै समस्या पनि आए, त्यही पनि हामीले घरपरिवार र विद्यालयबाट आर्थिक सहयोग पायौँ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ  ।’

कक्षा १० मा एसईई रहेको हुँदा पढाइलाई समेत त्यतिकै प्राथमिकता दिएर गाडी तयार पारेको थापाले बताए । ‘सानैदेखि मेकानिकल क्षेत्रमा रुचि रहेको थियो’, उनले भने ‘चारै जना साथी मिलेर गाडी तयार पारेका छु ।’



उनले गाडी पेट्रोलियम कि इलेक्ट्रोनिक बनाउने भन्ने छलफल पछि इलेक्ट्रोनिक बनाउने योजनामा पुगेको समूहकै अर्का विद्यार्थी आदित्य जोशीले बताए । ‘चारै जना साथीबीच इलेक्ट्रिकल कि पेट्रालियम गाडी बनाउन छलफल भएको हो’, उनले भने ‘नेपालको कन्ट्रक्समा इलेक्ट्रोनिक नै उपयुक्त हुने ठानेर अगाडि बढेका हुँ ।’

अहिले बनाएको गाडी नमुनाका लागि मात्र भएको राज्यको सहयोग रहेमा अझै योभन्दा स्तरीय बनाउने जोशीको भनाइ छ । उनीहरूले बनाएको चारपाङ्ग्रे गाडी ससपेन्सर हो ।



कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय लिएका थिए । चार महिना लगाएर करिब डेढ लाख लागतमा गाडी तयार भएको समूहको भनाइ छ । गाडीमा चालकसहित पाँचजना बस्ने सक्ने क्षमता रहेको छ । गाडीमा सबै पार्टपुर्जा वेल्डिङ गरेका छन् ।

इलेक्ट्रोनिक गाडी भएको हुँदा ब्याट्रीअनुसार जतिसुकै टाढा पनि जान सकिन्ने उनीहरूको भनाइ  छ । ‘कति दूरीमा जान्छ भन्ने कुरा गाडीमा भएका ब्याट्रीमा भएको चार्जले भर पर्छ’, विद्यार्थी जोशीले भने, ‘अहिले गाडीमा चारवटा ब्याट्री जडान छन् । अहिलेको अवस्थामा ७० किलोमिटर टाढा जान्छ ।’

गाडीले ७ क्विन्टल बोक्न सक्ने जनाइएको छ । अन्य गाडीजस्तै देखिने इलेक्ट्रोनिक गाडीलाई बजारमा ल्याउने तयारी समूहको छ ।

गाडीमा चाहिने आवश्यक सामग्री विभिन्न ठाउँबाट जुटाएर कार निर्माण गरेको समूहको भनाइ छ । आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाइसँगसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाइ छ ।

  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १४:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया