माओवादीको विधान पारित, अन्तिम रूप केन्द्रीय कमिटीले दिने
फाइल फाेटाे

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले विधान पारित गरेको छ ।विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ माओवादी नेता देव गुरुङले दिएपछि विधान पारित भएको हो ।  

विधान मस्यौदामा उठेको प्रश्नहरूको जवाफ दिँदै स्थायी कमिटी सदस्य रहेका नेता गुरुङले सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रूप दिनेगरी विधान मस्यौदा पारित गर्न अनुरोध गरेको थिए । 

उनको प्रस्तावपछि महाधिवेशनको बन्दसत्रहलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको हो । 

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।

यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । 



केहीबेरलाई बन्दसत्र स्थगित 

विधान पारित भएसँगै केहीबेरको लागि महाधिवेशनको बन्दसत्र स्थगित भएको छ । विधान पारित भएसँगै आजै नयाँ नेतृत्व चयन हुनसक्ने सम्भावना रहेको माओवादीले जनाएको छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने पक्कापक्की देखिए तापनि महासचिवमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसालको दाबेदारी छ ।



आजै केन्द्रीय समितिकाे प्यानल घाेषणा गर्ने तयारी रहेकाे छ ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १२:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया