‘के सरकारका प्रवक्तालाई रेबिज लागेको भन्ने ठान्नुभएको छ ?’

काठमाडौं– प्रत्येक बिहीबार नियमित रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक हुन्छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने गर्छन् ।

आज पनि पत्रकारहरु मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनको रिपोर्टिङ गर्न आएका थिए । 

सामान्यतः सिंहदरबार प्रवेश गर्दा पत्रकारले प्रेस पास मूल गेटमा मात्रै देखाए पुग्छ । आजको माहोल अलिक फरक रह्यो, मन्त्रालयको ढोका र पत्रकार सम्मेलन हुने कक्षमा समेत पास जाँच गरियो ।

सरकारले एसिया प्यासिफिक सम्मेलनका लागि उपत्यकाको सवारीमा आजदेखि जोर–विजोर प्रणाली लागू गरेको छ । जसको प्रभाव मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममा पनि देखियो । आज नियमितभन्दा निकै कम पत्रकार कार्यक्रममा उपस्थित थिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिसकेपछि प्रश्नोत्तरको चरणमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा मिडियाप्रति आक्रामक देखिए । 

सुरुमा मसिनो स्वरमा बोल्दै ‘सरकारको आवाज सुक्यो भन्नुहोला फेरि’ भन्ने ठट्टाबाट अघि बढेका मन्त्री बाँस्कोटा सवाल–जवाफको क्रम सुरु भएसँगै तातिँदै गएका थिए । 



मिडियाले ‘फेक’ समाचार संप्रेषण गरेको भन्दै उनले आक्रोष पोखे । ‘कतिपय मिडियाचाहिँ खै किन हो, मास कम्यिुनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थालेका हुन कि जस्तो लाग्छ,’ रोषपूर्ण अभिव्यक्तिका साथ उनले भने । त्यसपछि उनले मिडियाप्रतिको आफ्नो कुन्ठा रोक्न सकेनन् । लगातार पत्रकारमाथि खनिए । 

एसिया प्यासिफिक सम्मेलन, निर्मला पन्त प्रकरण र गत मंगलबार सरकारले गरेको विज्ञापनको आलोचना भइरहेको सन्दर्भमा सरकारका प्रवक्ताले मिडिया गैरजिम्मेवार भएको आरोप लगाए ।



एसिया प्यासिफिक सम्मेलनका लागि नेपालले ५५ लाख रुपैयाँ खर्च गरेको जानकारी दिँदै उनले सम्मेलनको विरोधमा बोल्ने र लेख्ने सञ्चारमाध्यमलाई फोबिया भएको आरोप लगाए । उनले भने, ‘यो (सम्मेलन) गर्न नहुने कुरा होइन । यसको विरोधमा बोल्नेहरुलाई फोबिया भएको छ ।’

सरकारी सञ्चारमाध्यममा निर्मला पन्त प्रकरणका समाचार प्रकाशन, प्रसारण नगर्न आफूले उर्दी नदिएको प्रस्ट्याउने क्रममा उनले आक्रोशको सीमा नाघेर आफैँलाई समेत गाली गरे । उनले भने, ‘मैले सरकारी मिडियामा निर्मला पन्तको समाचार रोक्यो भनेर आइरहेका छन् । तपाईंहरुले सरकारको प्रवक्तालाई के रेबिज लागेको भन्ने ठान्नुभएको छ ?’

आफूले सरकारी सञ्चारमाध्यममा निर्मलाको समाचार रोकेको पुष्टि गर्न चुनौती दिँदै उनले भने, ‘म व्यक्तिगत रुपमा चुनौती दिन चाहन्छु, मैले त्यसो गरेको पुष्टि हुन्छ भने एक मिनेट पनि पदमा बस्दिनँ ।’ मन्त्री बाँस्कोटाले केही पत्रकार र सञ्चारमाध्यमको नामै किटेर चुनौती दिएका थिए ।

मिडियाले आफ्नो विश्वसनीयता गुमाएको भन्दै उनले यस्तै रहे मिडिया ढल्ने र धरासयी हुने ठोकुवा गरे । ‘कसैले केही गर्नुपर्दैन, मिडिया यस्तै रह्यो भने एकदिन आफैँ ढल्छ,’ बाँस्कोटाले भने ।

नेपाली पत्रकारितालाई ‘क्याफेकारिता’को उपमा दिँदै बाँस्कोटाले मिडिया समाचार खोज्नुको सट्टा समाचार बनाउने प्रवृत्तिमा लागेको आरोप लगाए । 

सरकारलाई समाचार र विज्ञापन दुवैको स्रोतका रुपमा लिनुपर्ने बताउँदै बाँस्कोटाले सञ्चारमाध्यमलाई प्रश्न गरे, ‘सरकारले भनेको कुरा आधिकारिक होइन, अरुले भनेको कुरा मात्रै आधिकारिक हो भने आधिकारिकता मापन गर्ने निकाय कहाँ छ ?’

सरकारबाहिर मिडियाले समानान्तर सत्ता स्थापना गर्न खोजेकोतर्फ संकेत गर्दै उनले मिडियालाई धम्कीको भाषामा प्रश्न गरे, ‘सरकारभन्दा बाहिरचाहिँ के स्थापना गर्न खोजेको हो ?’

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गर्दा ठूलो तामझाम गरेको विषयमा भएको आलोचनातर्फ लक्षित गर्दै बाँस्कोटाले भने, ‘सरकारले सुरु गरेको नयाँ कामको ब्रान्डिङ गरेको हो ।’ 

सरकारले आफ्नो कामको ब्रान्डिङ गर्नुपर्ने आवश्यकता महसुस गरेका कारण विज्ञापन गर्नुपरेको उनले सुनाए । सरकारले मंगलबार गरेको प्रचारबाजीलाई ‘कोकाकोलाले ब्रान्डिङका लागि गर्ने विज्ञापन’सँग तुलना गर्नसमेत उनले भ्याए ।

सरकारले गरेको विज्ञापनमा किन प्रधानमन्त्री ओलीको तस्बिर राखिएको भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘जसले यो कार्यक्रम सुरु गर्यो, उसैको तस्बिर राखिएको हो ।’

संघीयता कार्यान्वयनमा सरकार अलमलियो

पत्रकारहरुले सरकारको आलोचना मात्रै गरेको मन्त्री बाँस्कोटाको आरोप छ । सरकारले राम्रो काम पनि गरेको उनको दाबी छ । यति दाबी गर्दागर्दै पनि उनले फरक प्रसंगमा संघीयता कार्यान्वयन भने केही असहज भएको स्विकारे । ‘प्रदेशहरुको सम्बन्धमा केही संक्रमण छ,’ पहिले नै संघीयताको व्यावहारिक पक्ष ख्याल नगरिएको स्वीकार गर्दै बाँस्कोटाले भने, ‘हामीले संघीयतामा जानुपूर्व सबै कुराको लेखाजोखा गरेका थिएनौँ । खासगरी व्यस्थापकीय कुराको ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा १४ हजार कर्मचारी अपुग रहेको बताइरहँदा प्रदेश सरकारले आफैँ कर्मचारी भर्ना गर्न पाउनुपर्ने माग राखेका थिए । 

प्रदेश सरकारको मागलाई अस्वीकार गर्दै संघीय सरकारले  कर्मचारी भर्नासम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका कारण सरकार संघीयताप्रति कठोर र निरंकुश बन्दै गएको आरोप सांसदहरुले लगाउँदै आएका छन् । 

तर, बाँस्कोटा भने वर्तमान सरकार बुलेटबाट नभई ब्यालेटबाट आएकाले निरंकुश नभएको बताउँछन् । ‘कहिले–कहिले अध्यादेश ल्याउनुपर्ने हुन्छ,’ व्यवस्थापनमा सरकार ढिला भएको स्विकार्दै उनी थप्छन्, ‘हामीले परिकल्पना गरेअनुसार सबै काम भएको छैन । तर, त्यसो भन्दैमा परिकल्पना नै त गर्नुहुँदैन भन्ने होइन नि ?’

कालो ओभरकोटमा सजिएर आएका बाँस्कोटाले ४० मिनेटको कार्यक्रममा आधाभन्दा धेरै समय मिडियाप्रति आक्रोश व्यक्त गर्न खर्च गरे । 

कार्यक्रमको अन्त्यमा दुईतिहाइको दम्भसमेत देखाउन भ्याएका बाँस्कोटाले भने, ‘दुईतिहाइ सरकारसँग छ, यो साँचो कुरा हो ।’ 

  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १९:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया