संसदमा जारी अवरोध खुलाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।
बालकोटस्थिति ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भइरहेको देउवाको सचिवालयले जनाएको छ ।
ओलीसँग भेटवार्ताका लागि देउवा बिहान १० बजे बालकोट पुगेका हुन् । देउवालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र सत्तारूढ गठबन्धनले संसद खुलाउनबारे ओलीसँग सम्वाद गर्ने कार्यधिकार दिएको छ ।
संयन्त्रको बैठक बिहीबार बसेको थियो । शुक्रबार भने संयन्त्रका संयोजक पौडेलको अध्यक्षता र देउवाको उपस्थितिमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।
दुवै बैठकले देउवालाई जनप्रतिनिधिहरूको थलो संसदले एमालेले अवरोध गरिरहँदा ‘पर्फर्मेन्स’ दिन नसकेको भन्दै ओलीसँग तत्काल सम्वाद गर्न कार्यादेश दिएको हो।
सोहीअनुसार देउवाको भेट ओलीसँग भएको हो ।
ओलीले दुईवटा माग गएको साउनदेखि नै राख्दै आएका छन् । उनको पहिलो माग हो- सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने र दोस्रो माग हो- नेकपा (एकीकृत समाजवादी)का सांसदहरूलाई संसद बैठकमा सहभागी गराउन नहुने ।
यी दुवै माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने ओलीले बताएका छन् । अवरोध गर्दै पनि आएका छन् । जसका कारण संसद ‘डेडलक’ को स्थितिमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।