एमाले जिल्ला अधिवेशन : दाङमा सर्वसम्मत नेतृत्व चयन

नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङको घोराहीस्थित सभाहलमा भएको १३ औं जिल्ला अधिवेशनले हुकुम बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

गएराति अबेर सम्पन्न जिल्ला अधिवेशनको बन्दशत्रले सर्वसम्मतिमा आगामी ३ वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति चयन गरेको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं जिल्ला ईञ्चार्ज नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हिरादेवी पुन निर्वाचित भएका छन् । सचिव बुढाथोकी र उपसचिव भुसाल बाहेक अन्य पदमा नयाँ अनुहार आएका छन् ।

पालिकास्तरबाट १० वटै पालिकाबाट भुगोलका आधारमा ५६ जना सदस्य पदमा नेतृत्व चयन गरिएको छ । यस्तै, समावेशी क्षेत्रका आधारमा दलित, थारु, मधेशी, आदिवासी जनजाति, मुस्लिम, अपांगता, महिला, पिछडिएको वर्ग अल्पसंख्यकबाट ३० जना सदस्य पदमा, खुला सदस्यमा सबै पालिकाबाट समेटिने गरी १९ जना र सदस्यतर्फ नै खुला क्षेत्र महिलामा ११ जना गरी १ सय २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरिएको एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

कुल १ सय ३१ सदस्यीय जिल्ला कार्यसमिति रहने एमाले दाङमा बाँकी १० जना पछि मनोनित गरिने भएको छ । जिल्लाभरबाट कुल १४ सय ३७ प्रतिनिधि सहभागी अधिवेशनले पदाधिकारी चयन गरेको हो ।

यसैबीच, नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । प्रमुख निर्वाचन अधिृकत दामोदर बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई आज विहान पद तथा गोपनीयताको शपथग्रहण गराए । जिल्ला अधिवेशन एमाले दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो । देशव्यापी एकैसाथ जिल्ला अधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय अनुसार शुक्रबार देशव्यापी एकैसाथ जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो ।





  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १६:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया