सभापतिले आफूखुशी गरे चुनावमा हारको सामना हुनसक्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफूखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको कुराकानी गर्दै नेता कोइरालाले सभापतिले म सबैको हुँ भने पनि विश्वासको वातावरण भने बनी नसकेको बताए । 

सभापति शेरबहादुर देउवाले विधानमा भएको व्यवस्थालाई गलत रूपमा प्रयोग गरेर नियुक्ति गरिएको उनले बताए । सभापति यसरि नै हिँड्ने हो भने पार्टीले स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न नसक्ने उनको भनाइ छ ।

उनले भने 'अहिले भर्खर सुरुवात हो । जसरी उहाँले भन्नुभयो म सबैको सभापति हुँ । त्यो देखाउनु पर्यो । देखिने गरी हुनु पर्यो, न्यायसंगत हुनु पर्यो । उहाँले विधानलाई टेकेर हिँड्नु भएको छ तर जसरी नियुक्तिहरू गर्नु भएको छ । कार्य समितिमा ल्याउनु भएको छ । त्यसको मापदण्ड के हो भन्ने कुरा चैं हामीले जान्न जरुरी छ । न्यायसंगत हुनुपर्छ भन्ने हाम्रो चाहना हो । भएन भने अप्ठ्यारो त पर्छ नै ।'

उनले सभापति एक्लै हिँडे पार्टी दुर्घटनामा पर्ने बताए । 'त्यस्तो भयो भने पार्टी दुर्घटनामा जान्छ । दुर्घटना भनेको स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन जित्न सकेन भने त्यसको दोष कसले लिने,' उनले भने ।

एक फरक प्रशंगमा कोइरालाले आम नेपाली जनतामा एमसीसीका बारे फैलिएको त्रास चिर्न संसदमार्फत छलफल गरेर जे हुन्छ जानकारी दिनु आवश्यक रहेको बताए । कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको भन्दै अवरुद्ध संसद सुचारु गर्न तर्फ काँग्रेस र एमाले दुवै लाग्नु पर्ने बताए । 



न्यायपालिकामा दबाब दिन जरुरी रहेको बताएका कोइरालाले प्रधानन्यायाधीशले स्वयं निकास खोज्नु पर्ने धारणा राखे । कोइरालाले आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्नेसमेत दोहोर्याए ।



  • प्रकाशित मिति : पुस २४, २०७८ शनिबार १७:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया