ओलीमाथि कांग्रेसको टिप्पणी : ‘चौतारीमा राजा भेटिए’

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले धर्म प्रचारमा क्रियाशील आइएनजीओको आयोजनामा काठमाडौंमा भइरहेको दक्षिण एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नताको औपचारिक रुपमै भर्त्सना गरेको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले सम्मेलनमा सरकारको संलग्नताबारे आइतबार विज्ञप्ति जारी गर्दै औपचारिक रुपमै विरोध गरेको हो ।

बैठककै बीच पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘धर्मनिरपेक्ष राज्य भएको मुलुकमा कुनै निश्चित धर्मको कार्यक्रममा सरकार सहभागी हुनु, कुनै धर्मको प्रचार भइरहेको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक छ।’

सम्मेलनमा सरकार आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावनाविपरीत रहेको कांग्रेसको ठहर छ। बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले भनेको छ,  ‘नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधन–स्रोतको दुरुपयोगको भर्त्सना गर्दछ ।’

धर्मनिरपेक्ष मुलुकमा अल्पसंख्यक वा बहुसंख्यक धार्मिक आस्था राख्ने सबै समुदायको भावनालाई सम्मान गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।

केन्द्रीय समिति बैठकले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४’लाई आलोचनात्मक समर्थन गरेको छ।



सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला १ साउन २०७४ मा उक्त ऐन संसद्बाट पारित भएको थियो ।

सरकारले मंसिर ११ गते उक्त ऐन कार्यान्वयनमा ल्याएको घोषणा गरेको थियो । उक्त घोषणालाई सकारात्मक रुपमा लिइए पनि कार्यक्रममा अपनाइएको भड्किलो प्रचारशैलीको समर्थन गर्न नसकिने उसको ठहर छ ।



विज्ञप्तिमा उल्लेख छ, ‘सामाजिक सुरक्षा ऐनको सफलता भड्किलो प्रचारशैली र झुटो प्रचारले हैन, परिवक्व तथा जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुनेमा नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।’

सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहबर्द्धक भूमिकाबाट मात्र यस ऐनको सफल कार्यान्वयन हुने भन्दै कांग्रेसले  ‘चोक–चोक, गल्ली गल्लीमा प्रधानमन्त्रीको फोटो टाँसेर, आफ्नै पार्टीको कार्यक्रमजस्तो प्रचार गरिनुले नारायणगोपालको गीत कसैले कपी गरेर आफ्नै हो भनेजस्तै देखिएको’ टिप्पणी गरेको छ ।

कांग्रेसका पालामा पारित ऐन लाई ‘नयाँ युग सुरु’ भनेर भड्किलो तामझाम गर्ने तर कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्विलचेयरमा बसेका, मिर्गौला, क्यान्सर र मुटुरोगका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने निर्णय खारेज गर्ने सरकारको रबैयाप्रति बैठकले आपत्ति जनाएको छ।

श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचारमा श्रमिकको तस्बिर भने कतै प्रयोगमा नल्याइएको भन्दै कांग्रेसले पार्टीगत चुनावी प्रचारमा जस्तै प्रधानमन्त्रीको फोटोलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा सर्वत्र टाँस्नुले ‘नयाँ युग हैन, पुरानो युगको सम्झना गराएको’ बताएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रश्न गरे, ‘यो कस्तो नयाँ युग हो, जहाँ प्रधानमन्त्रीको तस्बिर टोल–टोलमा, बिजुलीका पोल–पोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्बिरसहितको पोस्टर टासिँदा च्यातिदिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने ?’ 

  • प्रकाशित मिति : मंसिर १६, २०७५ आइतबार १८:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया