\
राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाहरूकाे बलिदानबाट याे मातृभूमिकाे निर्माण भएकाे बताएकी छन् ।
राष्ट्रपति भण्डारीले नेपाल एकीकरण अभियानकर्ता पृथ्वीनारायण शाहकाे ३०० औं जन्मजयन्तीकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्ताे बताएकी हुन् ।
उनले पृथ्वीजयन्तीकाे अवसरमा श्रद्धासुम्मन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् ।
‘देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित छ’, राष्ट्रपतिले जारी गरेकाे सन्देशमा भनिएकाे छ ।
महत्त्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने सन्देशमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्ने विश्वास समेत राखेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।