इन्धनमा कर वृद्धिकाे विराेध
फ्रान्समा हि‌ंसात्मक अान्दाेलनपछि अाकस्मिक बैठक, संकटकाल लाग्न सक्ने

एजेन्सी– फ्रान्समा सरकारको विरोधमा भएको हिंस्रक प्रदर्शनपछि राष्ट्रपति इमानुएल म्याक्रोनले आकस्मिक सुरक्षा बैठक गरेका छन् । 

सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेएक्सले फ्रान्समा भड्किएको हिंसालाई नियन्त्रणमा राख्न संकटकाल लगाउन सकिने बताएका छन् । यो घटना फेरि दोहोरिन नदिन संकटकाल नै उपयुक्त विकल्प भएको उनको भनाई छ । 

डिजेलमा कर बढेपछि केही समयदेखि फ्रान्सका जनताहरु आन्दोलनमा उत्रिएका छन् । शान्तिपूर्ण प्रदर्शन विस्तारै हिंसात्मक बन्दै गइरहेको छ । सुरक्षाकर्मीहरु प्रदर्शनकारीको निशाना बनेका छन्, भौतिक संरचना, सवारी साधानहरु जलाइएका, तोडफोड गरिएका छन् ।

आक्रमणमा २३ सुरक्षाकर्मी सहित १०० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले ४०० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । विरोधका क्रममा फ्रान्सको प्रसिद्ध स्मारक अख द ट्रियोम्फमा क्षती पुगेको छ । 

सबै प्रदर्शनकारी पहेंलो कपडामा सडकमा उत्रिएका छन् । पेट्रोलियम पदार्थमा अत्याधिक कर बढाएकोमा फ्रान्स सरकारसँग उनीहरु निकै आक्रोशित छन् । वातावरण प्रदुषणलाई नियन्त्रणमा राख्न पेट्रोलियम पदार्थमा कर वृद्धि गरिएको फ्रान्स सरकारले बताउँदै आएको छ । शहरबाट टाढा रहेका व्यक्तिहरु, जसलाई दैनिक लामो समयसम्म कार चलाउनुपर्छ, ती व्यक्तिलाई यो ट्याक्स निकै महंगो पर्ने भएकाले यसलाई घटाउन प्रदर्शनकारीले माग गरेका छन् । 

प्रदर्शनको नेतृत्व कसले गरेको छ भन्ने खुलेको छैन् । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आह्वानमा मानिसहरु आफैँ सडकमा निस्किएका हुन् ।



विरोध प्रदर्शनमा सहभागी भएका मानिसलाई कट्टर वामपन्थी र राष्ट्रवादीको ट्याग लगाइएको छ । जसका कारण प्रदर्शन हिंसात्मक बन्न पुगेको छ । तर, केही व्यक्ति शान्तिपूर्ण आन्दोलन गर्ने पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । १७ नोभेम्बरमा फ्रान्समा भएको प्रदर्शनमा करीब तीन लाख मानिस सहभागी थिए । 

राष्ट्रपति म्याक्रोनले शनिबार भएको हिंसाप्रति असन्तुष्टि जनाउँदै हिंस्रक गतिविधि गर्ने व्यक्तिको देशमा अशान्ति पैदा गर्ने मात्र उद्देश्य रहेको बताएका छन् । सरकारका निर्णयसँग भएको असन्तुष्टि व्यक्त गर्न शान्तिपूर्ण आन्दोलन गर्न सकिने म्याक्रोनको भनाई छ । 



फ्रान्समा कारमा प्रयोग गरिने प्रमुख इन्धन डिजेल हो । पछिल्लो १२ महिनामा डिजेलको मुल्य २३ प्रतिशतले बढेको छ । अहिले डिजेलको मुल्य १.७ डलर प्रतिलिटर रहेको छ, जुन २००० को दशकमा सबैभन्दा धेरै मुल्य हो । म्याक्रोन सरकारले यो वर्ष प्रतिलिटर डिजेलमा ७.६ प्रतिशत हाइड्रोकार्बनको ट्याक्स लगाएको छ । 
 

  • प्रकाशित मिति : मंसिर १७, २०७५ साेमबार ८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया