प्रदेश २ : नाममा दलहरुको अडान कायमै, सोमबार मतदान हुने

प्रदेश २ को नामकरण र राजधानीका लागि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्ष निकालिएको छ । 

प्रदेशको नामकरण र राजधानीका  लागि गठित विशेष समितिले ६ बुँदे निष्कर्षसहित आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेस गरेको हो ।
 
प्रतिवेदनमा माघको पहिलो सप्ताहमै मतदानमा जान अनुरोध गरिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायत व्यवस्थापन मिलाउनुका साथै मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्षसँगै टाँसिएको कक्षमा गर्न भनिएको छ । 

समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको छ । 

प्रदेशको नामकरणका लागि मधेस, जानकी, मिथिला भोजपुरा र मध्य मधेसमा मतदान गर्न सुझाब दिइएको छ भने राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केबरस्थित पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव राखिएको छ । यो प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेको उल्लेख छ । 

राजधानीका लागि वीरगन्ज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने पनि प्रस्तावसमेत गरिएको छ । वीरगन्ज महानगरपालिकालाई राजधानीको रुपमा समेत प्रस्ताव गरिएको छ । 

सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नाम र राजधानीमाथिको छलफल जारी नै रहने बताइएको छ । यद्यपि सोमबार नाम र राजधानीको निर्क्योल गर्नका लागि मतदान प्रक्रिया अगाडि बढाउन तयारी समेत गरिँदै छ । 



आजको बैठकमा विशेष समितिको प्रतिवेदनमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुबीच मतैक्यता समेत देखिएको थिएन । प्रदेशसभा सदस्यहरुले आ–आफ्नो दलहरुको प्रस्तावमा बल पुग्ने गरी मन्तव्य राखेका थिए । 

जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी तोक्न दलहरुबीच मतैक्यता रहे पनि केही सांसदहरुले भने राजधानी वीरगन्ज हुनुपर्ने अडान राखेका छन् । 



जसपा र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम मधेस हुनुपर्ने अडान राखेका छन् भने नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले मिथिला भोजपुरा र नेकपा एमाले तथा नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रदेशको नाम जानकी हुनुपर्ने अडान दोर्होयाएका थिए । 

केही प्रदेशसभा सदस्यले भने प्रदेशको नाम मध्यमधेस हुनुपर्नेमा जोड दिएका थिए । यस हिसाबले प्रदेशसभामा नामको सवालमा कुनै पनि प्रस्तावको पक्षमा २ तिहाइ बहुमत नपुग्ने देखिएको छ । 

प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुईतिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ मा सभामुखसहित १०४ जना सांसद छन् । यस हिसाबले दुईतिहाइको संख्या पुर्याउन कम्तीमा ७० जना सांसदको समर्थन आवश्यक देखिन्छ । 

मधेसको पक्षमा जसपाका ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ जना प्रदेशसभा सदस्यहरु छन् । सभामुखले मत बराबर भएको अवस्थामा मात्र आफ्नो मत हाल्न पाउनेछन् । 

सभामुख सरोज यादवलाई छाडेर मधेसको पक्षमा ६२ जना सांसद रहेका छन् । त्यस्तै, एकजना प्रदेशसभा सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीले नामको सवालमा मधेसमै समर्थन गरेकाले त्यो मत जोड्दा मधेसको पक्षमा ६३ मत पुग्छ । जुन दुई तिहाई भन्दा सात मतले कम छ । 

बैठक छाडेर मुख्यमन्त्री पार्टीको कार्यक्रममा

आइतबारको बैठकमा प्रदेशको नाम र राजधानीको विषयमा गम्भीर छलफल चलिरहँदा मुख्यमन्त्री लालबाबु राउत दलबलसहित धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । प्रदेशको नाम र राजधानीको सवालमा महत्वपूर्ण बैठक चलिरहँदा उनी छलफलमा सहभागी भएनन् । 

बैठकमा बोल्दै प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशको नाम र राजधानीको निर्क्योल गर्ने विषयमा गम्भीर नरहेको आरोप लगाइन् । 

उनले भनिन्,‘मुख्यमन्त्री राउतका लागि प्रदेशको नाम र राजधानीको विषयमा चलिरहेको महत्वपूर्ण बैठकमा सहभागी हुनु आवश्यक थिएन् । उनका लागि पार्टीको कार्यक्रम नै महत्वपूर्ण छ । मुख्यमन्त्रीका लागि प्रदेशको नाम पाउने विषय महत्वपूर्ण होइन, पार्टीको प्रवेश कार्यक्रम नै महत्वपूर्ण छ ।’  

असंवेदनशील माननीय

आइतबारको प्रदेशसभा बैठकमा बोल्ने क्रममा प्रदेशसभा सदस्य रामकुमार यादवले बीचमै फोन उठाएका थिए । प्रदेशको नाम र राजधानीको सम्बन्धमा बोल्ने क्रममा उनको मोबाइलमा फोन आउँदा उनले बीचमै फोन उठाएका हुन् । 

फोन उठाएर उनले ‘ए भाइ’ भन्दै फेरि फोन काटेका थिए । उनले फोन काट्नेब्त्तििकै सबै सांसद हाँसेका थिए । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरुलाई नहास्न आग्रह गर्दै उनले फेरि बोल्ने क्रम सुरु गरेका थिए ।

बैठकमा अन्य सांसदहरु प्रल्हाद गिरी, करिमा बेगम लगायतले समेत आफ्नो मन्तव्यमा असंवेदनशीलता देखाएका थिए । उनीहरुले प्रदेशसभाको रोस्ट्रमबाटै जनकपुरधामको स्थानीयमा शिष्टता नरहेको भन्दै आफ्नो असंवेदनशीलता देखाएका थिए । 
 
सोमबार बिहान ११ बजे बस्ने बैठकमा नामकरण र राजधानीमाथि सांसदहरुको छलफल सकेर यसै हप्ता निर्वाचनमार्फत प्रदेशको नाम र राजधानी तोक्ने समितिले निष्कर्ष निकालेको छ । 

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १९:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया