लेटरप्याड र छाप चोरेर सक्कली शैक्षिक प्रमाणपत्र नभएको व्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको आरोप

बझाङको बित्थडचिर गाँउपालिका वडा नं. ९ मा रहेको सुनकुडा क्याम्पसमा केही दिनयता क्याम्पस प्रमुख नियुक्तिको विषयमा विवाद चुलिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्षले नयाँ प्रमुख नियुक्त गरेपछि विवाद उत्पन्न भएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेशबहादुर अधिकारीले मनोमानीपूर्ण र एकलौटी ढंगले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

क्याम्पस प्रमुख इन्द्रबहादुर विष्टको कार्यकालवधि सकिएको भन्दै अध्यक्ष अधिकारीलगायतले आफूसमर्थक चक्रबहादुर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको विष्टको आरोप छ ।

ढाँटलाई नियुक्त गरेपछि इन्द्रबहादुर विष्टलगायत प्राध्यापकहरुले विरोध गरेका छन् । क्याम्पस प्रमुख इन्द्रबहादुर विष्टले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा ढाँटलाई छलकपटपूर्ण तरिकाले नियुक्त गरेको आरोप लगाएका छन् । अध्यक्ष अधिकारीले केही दिनअघि आफ्ना दुईजनालाई क्याम्पसमा जागिर दिनुपर्ने भनेर प्रस्ताव गरेको र त्यो प्रस्तावलाई आफूले अस्वीकार गरेपछि आफूलाई नियतवश क्याम्पस प्रमुखबाट हटाउन खोजेको बताए । ‘असोज २१ गते अध्यक्ष रमेश अधिकारीले मलाई दुईजना आफूनिकटका मान्छेलाई कर्मचारी भर्ना गर्न प्रस्ताव राखेका थिए । तर, मैले क्याम्पसमा भएका कर्मचारीलाई तलब दिनै समस्या भएका कारण त्यो प्रस्ताब अस्वीकार गरँे,’ विष्टले भने, ‘मैले अस्वीकार गरेपछि अध्यक्षले स्वार्थ पूरा गर्न छलकपटपूर्ण तरिकाले मलाई हटाएर नयाँ प्रमुख नियुक्त गरे ।’

गत पुस २५ गतका लागि सो क्याम्पसको सञ्चालक समितिको बोलाइएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अधिकारीले बैठक स्थगित भएको भन्दै अरुलाई घर पठाएर रातिको समयमा आफूनिकटका केही व्यक्तिलाई बोलाएर नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको असन्तुष्ट प्राध्यापकहरुले बताएका छन् । अधिकारीले क्याम्पसमा आफुखुसी गतिविधि गर्ने गरेको र शिक्षाको गुणस्तरमा विकास गर्नुको साटो राजनीतिक अड्डा बनाएको उनीहरुको आरोप छ । 



सञ्चालक समितिको अध्यक्ष जस्तो मान्छेले रातिको समयमा क्याम्पसको छाप र लेटरप्याड चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको इन्द्रबहादुर विष्टले आरोप लगाएका छन् । अधिकारीले नयाँ नियुक्त गरेका क्याम्पस प्रमुख ढाँटको सक्कली प्रमाणपत्र नभएको र फोटोकपीले नै काम चलाइरहेको भन्दै विष्टले छानबिनको मागसमेत राखेका छन् । गत असोज ६ गते उक्त क्याम्पस सञ्चालक समिति अध्यक्षको समय अवधि सकिएको भन्दै त्रिभुवन विश्वविद्यालयबाट पत्र आएको भए पनि नयाँ समिति गठन नगरिएको विष्टले बताए । अधिकारीले अवैधानिक ढंगबाट अध्यक्षको कार्यभार सम्हाल्दै आएको आरोप समेत उनले लगाए ।

तर, यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले भने सो दिन क्याम्पस प्रमुखलाई परिवर्तन गर्ने प्रस्ताव राख्दा क्याम्पस प्रमुख विष्ट बैठकमै नबसी हिँडेका र छलफल गर्दा राति भएकाले राति नै निर्णय लेख्नुपरेको बताएका छन् । उनले भने, ‘२०६४ सालदेखि क्याम्पस प्रमुखको जिम्मा पाएका विष्टको समयाअवधि सकिएपछि क्याम्पस सञ्चालनका लागि बनाइएको विधानअनुसार विष्टलाई हटाएर ढाँटलाई नियुक्त गरिएको हो ।’ 



उनले भने, ‘क्याम्पस सञ्चालक समितिको बहुमतको निर्णयका आधारमा उहाँलाई हटाई अर्को व्यक्तिलाई नियुक्त गरिएको हो ।’ अहिले क्याम्पस प्रमुखमा नयाँ व्यक्तिलाई नियुक्त गरिएको भए पनि इन्द्र बहादुर विष्टले आफू नै क्याम्पस प्रमुख रहेको र अवैधानिक रुपले क्याम्पस प्रमुख हुन आएका व्यक्ति क्याम्पस प्रमुख हुनै नसक्ने बताएका छन् । 

यस्तै, क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष  लालबहादुर ढाँटले भने रातारात नै क्याम्पसको लेटर प्याड र छाप चोरेर क्याम्पस प्रमुख नियुक्त गरेको भन्ने सुन्नमा आएको बताएका छन् । यदि क्याम्पस प्रमुख विष्टलाई हटाउनै परेको खण्डमा क्याम्पस प्रमुख नियुक्त गर्दा जसरी आमभेलाबाट गरिएको थियो । त्यसरी नै हटाउनु पर्ने वा कार्यसमितिका सबैलाई बोलाएर स–सम्मानका साथ बिदाइ गर्नुपर्ने बताए । 

‘क्याम्पस प्रमुखको मात्रै नभएर क्याम्पस सञ्चालक समितिका अध्यक्ष अधिकारीको पनि कार्यावधि सकिएको छ,’ उनले भने, ‘अध्यक्षले नैतिकताका आधारमा पनि नयाँ सञ्चालक समिति गठन गराउनुपर्ने थियो । तर, उनी उल्टै क्याम्पस प्रमुखको जिम्मेवारी खोस्नतिर लागेछन् ।’ 

क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष अर्जुन स्याँडाले भने क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफूहरुले सबैभन्दा बढी चन्दा दान गरेको बताए । तर, शिक्षा क्षेत्रमा नै राजनीतिक रुपमा पूर्वाग्रही ढंगले र स्वार्थका लागि वादविवाद उत्पन्न गराएकोमा असन्तुष्टि जनाए । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत हुन् । उनीमाथि शैक्षिक गतिविधिभन्दा राजनीतिक गतिविधिमा बढी लाग्ने गरेको आरोप लाग्दै आएको छ ।   

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार २१:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया