मास्क नलगाई हिँड्नेलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँडडुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आमनागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो ।

त्यस्तै, प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने आमसर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए । 

मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणलाई १०० रुपैयाँको कारबाही गरिएको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, यस्ता प्रकारका अनुगमनभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ । सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता भनेको नै नागरिक हो । सबै सचेत हुनुपर्छ, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । सबै व्यवसायी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था र सबै सर्वसाधारण नागरिकहरुले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नुपर्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १९:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया