काेराेना राेकथामका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेकाे मेयर शाक्यकाे आराेप
फाइल फाेटाे

कोभिड-१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्थानी तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन् ।

सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भए पनि सरकारले पछिल्लो समय कोभिड-१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनले आराेप लगाए ।

कोभिडको अघिल्ला लहरहरूमा सरकारी संयन्त्रले स्थानीय तहसँगको समन्वयमा मात्र हरेक निर्णयहरू गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढे क्षति कम हुने उनले उल्लेख गरे । 

उनले भने, ‘पहिले सुरुमा हुँदाखेरि प्रधानमन्त्री, उपप्रधानमन्त्री, विभागीय मन्त्रीहरूले हामीसँग सल्लाह गर्नुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमको कहिले संयुक्त रूपमा बैठक बोलाउँथ्यौँ । धेरै कुरा हामीहरूसँग छलफल हुन्थ्यो । समस्या के हो ? त्यसको समाधान गर्ने के हो ? माथिबाट निर्णय हुन्छ । निर्णय कार्यान्वयन गर्ने तल नै हुन्छ । यहाँ केही भयो भने माथिल्लो लेभलको कोही पनि खोज्दैन । हिजो कोरोनाबाट देशलाई बचाउन र सिंगो उपत्यकालाई बचाउन, महानगर बचाउन हामी आ-आफ्नो ठाउँमा क्रियाशील भयौँ । त्यसको कारणले धेरै न्यून मात्र क्षति भयो ।’ 

उनले कोभिड-१९ विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रूपमा सबैलाई खोप दिन सक्ने जिकिर गरे ।



प्रमुख शाक्यले काठमाडौं उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्ने भएकाले उपत्यका भित्र, बाहिर हुने आवतजावतमा गृह प्रशासनले कडाइ गर्नुपर्नेमा जाेड दिए ।



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १४:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया