राष्ट्रिय हितमा निरन्तर आँच आउँदा पनि गठबन्धन सरकार मूकदर्शक बन्‍यो : ओली
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय हितमा निरन्तर आँच पुगिरहँदा पनि गठबन्धन सरकार मूकदर्शक बनेको आरोप लगाएको छ ।

वर्तमान सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै सरकारले भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुङ्गो लगाउन सार्थक पहल गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू-भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा पनि सरकारले आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्नसमेत नसकेको बताए । 'भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुङ्गो लगाउन सार्थक पहल गर्नु त परको कुरा – लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूभागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ' अध्यक्ष ओलीले भनेका छन् ।

उनले भारतीय सुरक्षाकर्मीले तुइन चुँडाएर महाकालीमा बेपत्ता भएका जयसिंह धामीका सम्बन्धमा पनि सरकार मौन बसेको टिप्पणी गरे । 'भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाएर महाकालीमा बेपत्ता परिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको सरकार राष्ट्रिय हित स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएका कैयौँ प्रश्नमा लाचार बनेको छ,' उनले भनेका छन् ।

उनले विगतमै टुङ्गिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाए छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गरेको आरोप लगाए । 'विगतमै टुङ्गिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदन गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गर्ने काम गरिरहेको छ' अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १४:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया