मोरिससविरुद्ध खेल्दा नयाँ अनुभव हुनेछ : किरण

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको मैत्रीपूर्ण खेल नयाँ अनुभव हुने बताएका छन् ।

पहिलो मैत्रीपूर्ण खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा चेम्जोङले अफ्रिकी मुलुकविरुद्ध खेल्दा नयाँ अनुभव हुने बताएका हुन् ।

नेपाल र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुँदैछ । दोस्रो खेल मंगलबार हुने छ । 

‘हामी इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौँ, हाम्रो लागि यो नयाँ अनुभव हुनेछ,’ चेम्जोङले भने । 

कप्तान चेम्जोङले खेलाडी मानसिक तथा शारीरिक रूपमा फिट रहेको र मैत्रीपूर्ण खेल भए पनि सकारात्मक नतिजाको अपेक्षा रहेको बताए ।

‘यो खेलबाट  हामीलाई  केही सिक्ने अवसर पनि मिल्नेछ,’ उनले थपे ।  किरणले नेपाली टोली खेलका लागि तयार रहेको बताए ।



नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको बताए । उनले नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने जनाए ।

‘पहिलेको गल्तीलाई सुधारेर हामी एउटा राम्रो प्रदर्शन गर्ने आशा राखेका छौँ,’ प्रशिक्षक श्रेष्ठले थपे ।



समानस्तरको टोली भए पनि शारीरिक रूपमा नेपालभन्दा मोरिसस बलियो रहेकाले टोलीले यसमा विशेष ध्यान दिने श्रेष्ठले बताए ।

मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताएका छन् ।

'हामी पहिलो पटक नेपाल आएका हौँ । नेपाल बलियो टोली हो । हामीले राम्रो खेलको अपेक्षा गरेका छौँ,’ टोनीले भने ।

मोरिससले पछिल्ला साढे दुई वर्षदेखि खासै खेलहरू खेल्न नपाएको जानकारी दिँदै मैत्रीपूर्ण खेलका लागि बोलाएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति आभार व्यक्त गरे ।

‘हामीले खेलका लागि ४५ दिनको अभ्यास गरेका थियौँ,’ टोनीले थपे । धेरैपछि मैदान उत्रिँदा घरेलु टोलीसँग खेल्न गाह्रो हुने भए पनि टोली त्यसका लागि तयार रहेको टोनीले बताए ।

  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १७:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया