धुलिखेल अस्पतालमा ३३५ किलोवाटकाे सौर्य प्रणाली

काभ्रे– धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९ करोड अनुदान सहयोगमा बनेको सो प्रणालीको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बिहीबार उद्घाटन गरे । कुल लागतमध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले जुटाएको हो । परियोजनामा हालसम्म भन्डै १२ करोड खर्च भएको छ । 

नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो । सौर्य प्रणालीको क्षमता बढाएर १ मेगावाट पुर्याउने अस्पतालको लक्ष्य छ । 

अस्पतालले दुई चरणमा सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन भएको छ । 

निकट भविष्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्ने तयारी भएको काठमाडौँ विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन प्राडा राजेन्द्र कोजूले जनाए । 

उद्घाटन कार्यक्रममा मन्त्री पुनले सरकारले जलविद्युत् आयोजनाको विकास र प्रवरद्धनसँगै अन्य नवीकरणीय ऊर्जालाईसमेत अगाडि बढाएको बताए । 



सरकारले हरेक घरलाई ऊर्जा घरको रुपमा अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको भन्दै उनले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपनमा जोड दिए । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै मन्त्री पुनले नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमुनायोग्य काम गरिरहेको बताए । 



ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको उनको भनाइ छ । 
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएकोमा सरकारबाट थप सहयोग रहने विश्वास व्यक्त गरे । 

  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार २१:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया