लैंगिक विभेद हटाउन महिला श्रमिक संगठित

इलाम- विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर संगठनसमेत खोलेका हुन् । 

नवगठित अर्थोडक्स श्रमिक महिला मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरुष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन संगठन खोलिएको जानकारी दिइन्। ‘प्रशोधन कारखानामा अहिले पुरुषलाई ४ सय र महिलालाई ३ सय ज्याला दिइन्छ,’ भनिन्, ‘हामी महिला भएकै कारणले ज्यालामा विभेद गरिएको हो । एउटै काम गर्दा किन पुरुष र महिलामा ज्याला अन्तर हुन्छ ?’

आचार्यका अनुसार मञ्चमा दुई जिल्लाका सबै प्रशोधन केन्द्रका एक-एक महिला समेटिएको छ । संगठनका अन्य सदस्य आवश्यकताअनुसार थप गर्दै लगिनेछ । ‘हामी संगठनभित्र काम गर्दा सबै समस्या सुनुवाइ हुँदैन र एक्लै सबै समस्या भन्नसमेत सकिँदैन, त्यसैले एकताबद्ध भएका हौँ,’ सचिव आचार्यले भनिन्, ‘महिला श्रमिकलाई श्रमिक ऐन-कानुनसमेत जानकारी गराउन संगठन आवश्यक परेको हो ।’ 

स्थापनापछि उक्त संगठनले बचतसमेत संकलन गर्न थालेको छ । मासिक सय रुपैयाँ बचत संकलन र उक्त रकम महिला श्रमिकलाई आवश्यक परेकाका बेला ऋणस्वरुप उपलब्ध गराइने व्यवस्था गरिएको अध्यक्ष होमकुमारी आचार्यको भनाइ थियो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार ९:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया