एमसिसी बहस : के भन्छन् प्रदीप ज्ञवाली र मीनेन्द्र रिजाल ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसिसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन् । 

बुधबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसिसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका हुन् । सत्तामा रहेका नेताहरुले एमसिसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको उनकोे आरोप छ । 

एमसीसी एउटा विकास परियोजना मात्रै भएको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले एमसिसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे । 

‘त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय हो,’ उनले भने, ‘तर, त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ, भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् ।’ 

एउटा विकास परियोजनालाई जानी–जानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहेको उनको आरोप छ । ‘सरकार क्लियर होस् । हाम्रो प्रस्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ,’ ज्ञवालीले भने, ‘संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलाशसमा तथाकथित गठबन्धका कार्यदलहरुको त्यो अँध्यारो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।’

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनले स्पष्ट पारे । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे । 



कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठीक भएको धारणा राखे । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको उनको आरोप छ । संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए । 

‘सभामुखको भुमिका चित्त बुझेन भने सभामुख बेठिक छन्, यिनलाई हटाइपाऊँ भनी लेख्ने त व्यवस्था छ नि त, संविधानले दिएको । त्यो व्यवस्थामा जानुभए हुन्थ्यो नि त । जानुभएन अहिलेसम्म,’ रिजालले भने, ‘त्यो व्यवस्थामा तपाईहरुसँग मत नपुग्ला, तर लोकतन्त्र भनेको जित, हार दुईवटै हुन्छ नि त । जित्दा मात्र मान्छु, हार्दा मान्दिनँ भन्न पाइँदैन नि त । निकास खोज्नुपर्ला नि त !’



नेता रिजालले वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको उनले बताए । 

  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १८:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया