चितवनका भूमिहीनहरूले पाए जग्गाधनी प्रमाणपुर्जा
देशभर हालसम्म करिब १२ हजार घर परिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका भूमिहीनहरूलाई आज जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी छन्। 

मन्त्री श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी हुन् ।

जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरेर काम गरिरहेको र हालसम्म करिब १२ हजार घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गरी सकिएकोे जानकारी दिइन् । 

मन्त्री श्रेष्ठले भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि भूमि पाउनबाट छुट्न नहुनेमा जोड दिँदै सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि भूमिहीनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीय तहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोगमार्फत् काम अगाडि बढाइसकिएको उनकाे भनाइ छ ।

संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको समेत उनले बताइन् ।



यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेकाहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी थिइन् ।

यसैबीच आजै मन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।



राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम सुरु गरिसकेको छ ।

  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १६:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया