फ्रान्सको बढ्दो तनाव : किन भड्किँदै छ हिंसा ?

पेरिस– फ्रान्समा चार महिनादेखि सरकारविरोधी प्रदर्शन चलिरहेको छ । अनेक प्रयासका बाबजुद स्थिति झन् बिग्रँदो छ । 

पेट्रोलियमको मूल्यवृद्धिलाई लिएर सुरु भएको प्रदर्शन चौथो हप्तामा आइपुग्दा यो विश्वव्यापी चासो र चर्चाको विषय बनेको छ । 

भारी मूल्यवृद्धि, त्यसअनुरुप आय बढ्न नसक्नु, बेरोजगारी समस्या र कडा श्रम कानुनका कारण यहाँको मजदुर वर्गमा चरम असन्तुष्टि रहेको जानकारहरु बताउँछन् । 

यिनै मुद्दालाई लिएर ‘यल्लो भेस्ट’ मुभमेन्टका रुपमा उठेको आन्दोलन अहिले फ्रेन्च सरकारका लागि फलामे च्युरा बनेको छ । 

आन्दोलनको जड

फ्रान्सका जनता सबैभन्दा धेरै डिजेलबाट चल्ने गाडी प्रयोग गर्छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा डिजेलको मूल्य २३ प्रतिशत बढिसकेको थियो । जब सरकारले डिजेलमा थप ७.६ प्रतिशत ट्याक्स बढाउने निर्णय गर्यो, तब जनतामा आक्रोष चुलियो, र यल्लो भेस्टका रुपमा विस्फोट भयो । 



जनतामा बढ्दो आक्रोष र हिंसात्मक बन्दै गएको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले ६ महिनाका लागि ट्याक्स बढाउने निर्णय स्थगन गर्यो, तर समस्या यत्तिले सुल्झने संकेत देखिएन । 

वास्तवमा इन्धनको मूल्यवृद्धि मात्र असन्तोषको कारण होइन । दैनिक जीवनयापनको लागत बढ्दै जानु, आयमा भने वृद्धि नहुनुले जनतामा पहिलेदेखि नै निराशा थियो ।



फ्रन्सका अधिकांश श्रमिक र निम्न–मध्यमवर्गीय जनता आफ्ना लागि जिउनै मुस्किल भइरहेको बताउँछन् । प्रदर्शनका क्रममा उनीहरुले उठाएको ‘हामीलाई जिउन देऊ’ भन्ने नाराले पनि यसको संकेत दिन्छ ।

यससँगै यहाँको शिक्ष नीति र श्रम नीतिमा पनि धेरैको असन्तुष्टि छ । 

चार हप्तादेखि जारी प्रदर्शन समाधानका लागि हालसम्म कुनै ठोस उपाय निस्केको छैन । दैनिक हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिरहेका छन्, यातायातमा अवरोध छ, बजार पूर्ण रुपमा खुल्न सकेको छैन । बेलाबखत हिंसात्मक परिस्थितिहरु सिर्जना भइरहेकै छन् । 

प्रदर्शनका कारण यस विकेन्डमा हुन लागेको फुटबल लिगको म्याचसमेत स्थगित भएको छ । 

सामाजिक सञ्जालबाट सुरु भएको यो आन्दोलन आर्थिक रुपले कमजोर मध्म वर्गको आवाज बनेको विश्लेषकहरु बताउँछन् । आन्दोलनले हर निराश परिवारको निराशा र राजनीतिक अविश्वास प्रकट गरिरहेको बताइन्छ । 

शुक्रबार भएको एक ‘ओपिनियन पोल’ले सरकारप्रतिको समर्थनमा गिरावट आइरहेको देखाएको छ । तथापि, सरकारसँग अझै ६६ प्रतिशत जनसमर्थन देखिन्छ । 

समाधानको पछिल्लो प्रयास

प्रधानमन्त्री एडवर्ड फिलिपले शुक्रबार आन्दोलनकारीका प्रतिनिधिसँग भेट गरेका थिए । वार्तामा संलग्न ७ प्रतिनिधिले प्रधानमन्त्रीको यस पहलको स्वागत गर्दै र आन्दोलनकारीलाई शनिबार सडकमा नउत्रन आग्रह गरेका थिए । 

तर, शनिबार पनि प्रदर्शन जारी रह्यो । ठाउँ–ठाउँमा झडप भए । राष्ट्रपति निवासअगाडि जम्मा भएको भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यासको प्रयोग गर्नुपर्यो । अधिकांश पर्यटकीय गन्तव्य बन्द रहे । 

  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार २१:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया