‘न बिर्से तिमीलाई’को नयाँ भर्सनमा अञ्जु पन्तको आपत्ति

गायिक अञ्जु पन्तले नयाँ भर्सनमा आएको गजल गीत ‘न बिर्से तिमीलाई नपाए तिमीलाई’ मा वास्तविक गायक/गायिकाको नाम उल्लेख नगरेकोमा दुःख व्यक्त गरेकी छन् । वर्षौअघि अञ्जुले गाएको सो गीत केही दिनअघि नयाँ भर्सनमा सार्वजनिक भएको थियो । नयाँ भर्सनमा नवगायिका रचना रिमालले आवाज दिएकी छन् ।

नयाँ भर्सनमा ‘न बिर्से तिमीलाई नपाए तिमीलाई’ सार्वजनिक भएपछि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यही विषयमा अञ्जुले आफ्नो धारणा राख्ने क्रममा नयाँ भर्सनमा आएको गीतमा वास्तविक गायक/गायिकाको उल्लेख नगरी सार्वजनिक हुनु दुःखद र अन्यायपूर्ण भएको बताएकी हुन् । 

‘उही संगीत उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल गायक/गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुराभन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ,’ अञ्जुले फेसबुकमा लेखेकी छन् । 

उनले केही समयअघि आफ्नै आवाजमा नै पुनः यो गीत रेकर्ड गर्ने भन्ने कुरा भएको पनि उल्लेख गरेकी छन् । साथै, अञ्जुले कभरको रूपमा किड्स भर्सन गाउन दिने कुरा पनि भएको बताएकी छन् । तर, रचना रिमालको स्वरमा रेकर्ड भएपछि भने अञ्जु झस्किएकी छन् । 

‘केही समयअघि विपिन किरण भाइले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रि-रेकर्ड गर्ने भन्नु भएको थियो । सोहीअनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो । हामी समयअनुकूल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौं,’ अञ्जुले लेखेकी छन्, ‘यसैक्रममा उहाँले कभरको रूपमा किड्स भर्सन नयाँ भाइबहिनीहरूलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुसीसाथ हुन्छ भनेकी थिएँ । अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ ।’

हाल देश बाहिर रहेकी अञ्जुले रचना आफ्नो छोरी समान भएकाले नयाँ कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र माया रहने उल्लेख पनि गरेकी छन् । 



म्युजिक नेपाल नामक युट्युब च्यानलमा १५ अप्रिल २०१२ मा सार्वजनिक भएको अञ्जुको स्वर रहेको ‘न बिर्से तिमीलाई नपाए तिमीलाई’ ले अहिलेसम्म ६८ लाख ५२ हजारभन्दा बढी भ्युज पाएको छ । 



किरण क्रियसन च्यानलबाट हालै सार्वजनिक रचनाको आवाजमा नयाँ भर्सनलाई ४ लाख १२ हजार पटक हेरिएको छ । 

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १०:९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया