नेपाली सेनाको हेलिकोप्टरमार्फत साइपाल गाउँपालिकामा खाद्यान्न ढुवानी

बझाङकाे साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । आइतबार साइपाल गाउँपालिकाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्य संस्थानको गोदाम देवलबाट साइपाल गाउँपालिकामा खाद्यान्न ढुवानी गरिएको हो । 

लगातार भएको हिमपातका कारण खाद्यान्न अभाव भएपछि आइतबार साइपाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ का लागि ६१ क्विन्टल बढी चामल ढुवानी गरिएको छ । 

हेलिकोप्टरले तीनपटक गरी ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्याएको हो । उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधारणले पाउने बताइएको छ । यो वर्ष साइपाल गाउँपालिकामा तीन हजार क्विन्टल चामल ढुवानी हुने भएको छ ।

हिमपातका कारण साइपाल गाउँपालिकामा चारदेखि ६ फिटसम्म हिउँ जमेकाले पैदल बाटो पनि बन्द भएको छ । स्थानीयको घरमा सञ्चित खाद्यान्न सकिएपछि खाद्यान्नको अभाव सुरु भएको थियो । यातायातका साधन नपुगेको र भेडा च्यांग्राका लागि बाटो नभएकाले हेलिकोप्टर गुहार्नुपरेको स्थानीयले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका विभागीय प्रमुख भीम थापाले भने, ‘आगामी दिनमा समेत साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन योजना बनाएर गाउँपालिकासँग समन्वय गरेर खाद्यन्न ढुवानीको व्यवस्थापन गर्नेछौँ ।’

साइपाल गाउँपालिकाका स्थानीयको आम्दानीको स्रोत यार्सागुम्बा, भेडापालन भए पनि पछिल्लो समय वन विनाशका कारण यार्सागुम्बा कम पाइने र भेडाका लागि चरिचरनको अभाव भएपछि व्यवसाय छोड्न थालेका छन् । 



गाउँमा आजभन्दा पाँच वर्षपहिले भेडाबाख्रा नभएको परिवार नभेटिने अवस्था भए पनि पछिल्ला वर्ष गाउँमा एक–दुई परिवारले मात्र पशुपालन गर्ने गरेको साइपाल गाउँपालिका वडा नं. ३ का स्थानीय प्रदीप बोहराले बताए । 

भेडाबाटै भए पनि पहिले खाद्यान्न ढुवानी हुने गर्थ्यो, तर आजभोलि भेडा व्यवसाय गर्नेहरुको संख्या घटेपछि गाउँमा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।



  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १८:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया