गुमेको मिर्गौलासँगै थामिए लक्ष्मीका सपना

गमेर ल्याउँदा मिठा लाग्ने कैयौं सपना विपनामा नपुग्दै कहरमा बदलिन्छन् । दोलखाकी लक्ष्मी तामाङ (नाम परिवर्तन)को जीवनमा पनि सपना कुँडिएको यस्तै तितो अनुभव छ । तीन वर्षअघि विदेश जाने सपनामा दंग परेकी लक्ष्मी आज छोराहरूलाई पनि विदेश नपठाउने निष्कर्षमा पुगेकी छिन् ।

लक्ष्मीको घर दोलखा, आमगरिब परिवारमध्ये एक । दस औंला खियाउँदा पनि हातमुख जोड्नै मुस्किल पर्ने औसत जीवनकथा । ११ वर्षअघि उनका पति साउदी अरब जाँदा पनि सपना त्यस्तै भर्भराउँदो थियो । विदेशमा पैसा कमाइएला र घरबार चलाउन सजिलो होला, केटाकेटी पढाउन पाइएला भन्ने आमगरिब परिवारको जस्तै सपना हो यो ।

लोग्नेले कमाएर पठाउलान् र आर्थिक अवस्था सुध्रिएला भन्ने आशा उनलाई पनि थियो । पैसा आएन, बरु साउदी अरबमा राम्रो काम नपाएको लोग्नेको गुनासो पो आयो । कमाएको पैसा आफैंलाई पाल्न ठिक्क भएको स्पष्टीकरण दिने उनका लोग्ने बिस्तारै जिम्मेवारीबाट पन्छिन थाले । दुईटा बच्चाको लालनपालन गर्न धौधौ हुन थाल्यो ।

‘कहिलेकाहीँ फोन चैं गर्थे,’ उनी विगत सम्झिन्छिन्, ‘अरूले हेर्दा राम्रै थियो, तर हाम्रो सम्बन्ध राम्रो थिएन ।’


००० 

लोग्नेको आशा बाँकी नरहेपछि लक्ष्मी आफैं विदेश जान तम्सिइन् । तामाङ समुदायमा जन्मेकी, धुलोमाटोसँग खेलेर हुर्किएकी, उनले स्कुलको मुख त देखेकै हुन्, तर स्कुल पढेकी भने होइनन् ।



जम्मा एक दिन स्कुल गएको उनलाई सम्झना छ । ‘पढ्न त गएकै हो । तर पिसाब फेर्न जान्छु भनेर सरलाई सोध्न सकिनँ, अनि भागेर आएँ ।’ भोलिपल्टबाट उनी स्कुलै गइनन् । उनको स्कुल जीवनको कथा त्यहीँ सुरु हुन्छ र त्यहीँ टुंगिन्छ ।

बिहको अर्थ नबुझ्दै बिहे भयो । यौवन नचढ्दै बच्चाबच्ची भए । बच्चाबच्ची आउँदा सन्तान होइन दुःखको अर्को सिलसिला थपिएजस्तो लागेको थियो उनलाई । तर, बच्चा हुर्काउने जिम्मेवारी पूर्णतः आफ्नै काँधमा आइसकेपछि उनले के गर्ने ? लोग्नेले उहिल्यै भोगिसकेको सपना अब उनी आफैं देख्न थालिन् ।



‘पासपोर्ट बनाएको मात्र पैसा लाग्छ, हामी त विदेश जाने लागेको,’ गाउँका महिलाले उनलाई सुनाएको खबर यही थियो । यही खबरले उनलाई विदेश जाने सपनामा उडाइदियो । उनले सोचिन्, ‘यहाँ बसेर पनि दुःखै पाउनु छ । बरु विदेश गए पैसा कमाउन पो सकिन्छ कि !’ १० हजार तिरेर पासपोर्ट बनाउने निधो गरिन् उनले ।

लहैलहैमा साथीहरूको पछि लागेको न हो ! गार्मेन्ट कम्पनीमा काम गर्ने हो भन्नेसम्म उनलाई थाहा थियो । कुन म्यानपावर कम्पनीले आफूलाई पठाउँदै छ भन्नेसम्म पनि उनलाई पत्तो थिएन ।

यत्ति थाहा थियो– काम कुनै गार्मेट कम्पनीमा हो । छोराहरू दाजुको जिम्मा लगाएर उनी उडिन मलेसिया । गएको तेस्रो दिनबाटै उनी काममा लागिन् । तर सपना जस्तो थियो, विपना त्यस्तो भएन । हुन्थ्यो पनि कसरी ?

 

नबोलेरै बितेका ६ महिना

सपना पैसा कमाउने थियो, काम कति कठोर होला भन्ने कुरा उनले सोचेकी नै थिइनन् । दैनिक १२ घण्टा काममा खट्नुपथ्र्यो । खाने–बस्ने सुविधा कम्पनीले दिएको थियो । ‘१२ घण्टा लगातार काम गर्नुपथ्र्यो, आराम गर्ने मौकै पाइँदैनथ्यो,’ उनले सुनाइन्, ‘आराम गर्न बस्यो भने पनि सुपरभाइजरहरू कोठामै खोज्न आउँथे ।’

तयारी कपडा उत्पादन गर्ने कम्पनी थियो र काम जोखिमपूर्ण पनि थियो । ‘रङ नजाओस् भनेर तयारी लुगालाई केमिकलमा पखालेर सुकाउने काम थियो,’ उनले भनिन्, ‘केमिकलको गन्ध र कपडाको खारले एक वर्षमै घाँटी पोल्ने, खोकी लाग्ने, टाउको दुख्ने, सास फुल्ने हुन थाल्यो ।’

अर्को समस्या थियो भाषाको । त्यहाँको भाषा उनले जानेकी थिइनन्, आफ्नो भाषाले काम नचल्ने । इसाराको भरमै काम गर्नुपर्ने अवस्था थियो । ‘६ महिना त एक शब्द दोहोरो कुरा नगरेरै बित्यो,’ लक्ष्मीले भनिन् ‘त्यसपछि बल्ल भुटानी केटीसँग थोरैथोरै हिन्दीमा कुरा गर्न थालें ।’

काममा ध्यान नदिई सुख कहाँ थियो र ! समस्या त आइरहे, गइरहे । दुई वर्ष बिते । यता देशमा कान्छो छोरो राम्रो स्कुल पढ्न पायो, जेठो छोरोले पनि दोलखामा खाजा पसल खोल्यो । खुसीका दिन आएकै हो कि झैं पनि भएको थियो उनलाई । ती दिन सम्झिँदै उनले भनिन्, ‘मैले पनि राम्रो लाउन, मिठो खान पाएँ ।’

तलब भने म्यानपावर कम्पनीले आश्वासन दिएजस्तो पाइनन् लक्ष्मीले । मासिक २५ सय मलेसियन रिंगिट हुन्छ भनेको थियो, तर १२ सय मात्र दिए । त्यसमाथि १ लाख नेपाली रुपैयाँ बराबरको पैसा मलेसिया गएबापत काम्पनीले काट्यो । ‘पहिल्यै उतै काम गरेर पैसा तिर्ने हो भनेको भए पनि हुन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘दुःख गरेर कमाएको पैसा साहुले नदिँदा भने साह्रै चित्त दुख्यो ।’

 

गुमेको मिर्गौला

मलेसिया पुगेको एक वर्षमै उनको श्वासप्रश्वासमा समस्या देखिइसकेको थियो । दुई वर्ष नपुग्दै उनको स्वास्थ्यमा थप समस्या देखिन थाल्यो । ‘म निकै मोटी र गोरी थिएँ । बिस्तारै दुब्लाउन थालें, अनुहारको रङ फेरिएर घाउ देखिन थाले,’ लक्ष्मीले विगत सम्झिइन्, ‘सधैं टाउको दुखिरहन्थ्यो । औषधि खाए पनि ठीक भएको थिएन । दुखाइ बिस्तारै कोखामा पनि सर्याे ।’

न अस्पताल कहाँ छ थाहा थियो, न त जाने फुर्सद नै । एकदिन पीडा खप्न नसकेपछि कोठामा सँगै बस्ने साथीसँग अस्पताल गइन् । डाक्टरले उच्च रक्तचापको औषधि दिएर पठाए । उनले सुनाइन्, ‘औषधिले तीन महिना त काम गर्यो । त्यसपछि छोएन ।’

उनी थला परिन् । बाँचेर नेपाल फर्कन्छु भन्ने आशा नै टुट्लाजस्तो भयो । छोराहरू भेट्न पनि पाउँदिनँ कि भन्ने त्रासले उनी छटपटाउँथिन् । ‘कम्पनीमा त्यतिबेला नेपाली सेक्युरिटी गार्ड थिए । मलाई उनीहरूले नै अस्पताल लगे,’ लक्ष्मीले कथा खोलिन्, ‘मलाई त मर्छुजस्तो लागेको थियो ।’ 

ब्युँझँदा उनी अस्पतालको बेडमा थिइन् । भोलिपल्ट रिपोर्ट आयो । ‘मलाई मिर्गौलामा पानी जमेको छ भनेर ढाँटे,’ उनले बताइन्, ‘मेरो मिर्गौला त पचास पर्सेन्ट बिग्रिसकेको रैछ ।’ अस्पताल र कम्पनी अफिसरबीच उनको रिपोर्ट गोप्य राखिएको थियो ।

१५ दिन कोठामै आराम गरिन् । १४ दिनको दिन कम्पनीमा बोलाए । कम्पनीले उनलाई नेपाल फर्काउने निर्णय गरिसकेको थियो । ‘प्लेन टिकटको ९ सय र अस्पतालको खर्च ८ सय रिंगिट कटाएर मलाई ४ सय रिंगिट हातमा राखिदियो,’ उनले कुरा खोलिन्, ‘तैपनि घर फर्किन पाएँ भनेर खुसी नै लाग्यो ।’

काठमाडौं एयरपोर्टमा ‘पौरखी नेपाल’ नामको संस्थाका कार्यकर्ताले उनलाई फेला पारे । उनको अवस्था बुझ्नासाथ पौरखीले उनलाई सेल्टरमा ल्यायो र अस्पताल लग्यो । त्यतिन्जेल उनको दुखाइ कम भएकै थिएन । शिक्षण अस्पतालका डाक्टरले भनेपछि बल्ल उनले थाहा पाइन्– उनको बायाँ मिर्गौला काम नलाग्ने भइसकेको थियो ।

‘मेरो मिर्गौलाले चार प्रतिशत मात्र काम गरेको रहेछ,’ लक्ष्मीले बताइन्, ‘मलाई अब बाँचिन्न भन्ने लाग्यो ।’

शल्यक्रिया गरेर उनको बायाँ मिर्गौला निकालियो । त्यसपछि लक्ष्मीको सपनाले दोलखाको गाउँबाट उडान गरेर पौरखीको सेल्टरमा ल्यान्ड ग¥यो । अहिले उनी भन्छिन्, ‘आमाछोरा भएर अब होटल नै चलाउने हो । मेरो छोरा मात्र होइन, कोही पनि विदेश नगए हुन्छ ।’
 

  • प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार १२:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया