आज ७२ औँ ​राष्ट्रिय प्रजातन्त्र दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

जहानियाँ राणाशासनको अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ । वि.सं. २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भएर प्रजातन्त्र आएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

जनतालाई प्रमुख मानेर मुलुकको सार्वभौमसत्ता जनताकै हातमा अथवा जनतामा निहित राख्नका लागि बलिदान दिएका सहिदहरूको सम्झनामा आजको दिनमा दिवस मनाइँदै आएको हो । यसैक्रममा आज ७२ औँ प्रजातन्त्र दिवस मनाइँदै छ । 

राणाशासन हटाएको प्रजातन्त्रमै टेकेर भएका विभिन्न संघर्षबाट मुलुकमा लोकतन्त्र हुँदै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । दिवसका अवसरमा राष्ट्रप्रमुखसहित राजनीतिक दलहरूले शुभकामना दिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्ने बताएकी छन् ।  

‘हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ’,  राष्ट्रपतिले भनेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन् । 



२००७ सालको क्रान्तिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको  उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, ‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ। राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ। यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२-६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।’ 



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ८:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया