एक सातादेखि उठ्न छाड्याे फाेहाेर, काठमाडौं महानगर भन्छ- कुहिने फोहोर आफैँ व्यवस्थापन गर्नू

काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेपछि चोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट फोहोर उठ्न छाडेको हो । 

काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको छ । 

महानगरको वातावरण विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकावासीले आआफ्नो  घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’ 

नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएकाे छ ।

उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर, मडखु-तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरको भनाइ छ ।

उपत्यकाको काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।  निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर-ट्रकले नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल फोहोर लैजाने गर्छन् । 



दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् । 

तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।



महानगरकाे सूचना :

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ८:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया