फेरि फेवातालको पानी सुकाइँदै, ५ करोड लिटर पानी घटाउने तयारी

पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जनाएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो । सिँचाइको नहर यही कल्भर्टबाट बग्छ ।

पानी निरन्तर बगेकाले काम गर्न समस्या परेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सडककै आग्रहअनुसार १० फागुनदेखि पानीको सतह घटाउन लागिएको छ । ३० वैशाखसम्म बाँध खोल्ने र सतह घटाइने कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलेजस्तो सुख्खा हुनेगरी सतह घट्दैन । ‘२० सेन्टिमिटर जति बाँध खोल्छौं । यसबाट पाँच करोड लिटर पानी बग्छ,’ उनले भने, ‘कल्भर्टको काम सकिनेवित्तिकै बाँध बन्द हुन्छ । पहिले जस्तो धेरै सतह अहिले घट्दैन ।’

यसअघि पनि फेवाको बाँध मर्मतका लागि तालको पानी सुकाइएको थियो । तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ । ‘बढेको पानी फाल्ने हो । अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्छन्, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ ।’

ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फाष्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १२:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया