कांग्रेस–एमाले वार्तामा छलफल भएका ३ विषय

अमेरिकी सहयोग परियोजना एमसिसीमा सत्तारुढ पाँच दलमा फरक फरक मत देखिएपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्यको प्रस्ताव अगाडि सारेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीलाई संसदबाट अनुमोदन गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साथ नदिने भए पछि एमालेसँगको छलफललाई तीव्रता दिएका छन् । 

केही दिनअघिसम्म आफ्ना दूतमार्फत् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना सन्देश पठाएका देउवाले अब आफैं ओलीसँग म्याराथन शैलीमा छलफल बढाएका छन् । बिहीबार संसद बैठक स्थगित भएपछि बानेश्वरस्थित संसद भवनमा नै देउवा र ओलीसहित नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु छलफलमा जुटेका थिए । 

बिहीबार नै देउवा र ओलीले दोस्रो भेट गरे, साँझ बालुवाटारमा । बालुवाटारमा भएको भेटपछि कांग्रेसले एमालेसँग आफूहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिएको छ । एमालेसँग एमसिसीको विषयमा मात्र नभएर सत्ता साझेदारीको कुरासम्म बालुवाटारमा भएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

एमालेले राखेका सबै मागहरु आफूले पूरा गर्न र छलफल गर्न तयार भएको देउवाको आश्वासन पछि छलफल सकारात्मक दिशामा अगाडि बढेको हो । छलफल सकारात्मक भए पछि शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसिसीमाथि छलफल हुने सम्भावना पनि बढेको छ । यसका लागि एमालेले सदनमा गरिरहेको विरोध हाललाई स्थगित गर्न सक्ने अनुमान भएका छन् । 

यी छलफलमा नेपाली कांग्रेसका देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । त्यस्तै, नेकपा एमालेबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल पनि दुवै छलफलमा सहभागी थिए ।



यी छलफलमा प्राथमिकताका तीन विषय के के छन् त ? 

हामीले छलफलमा सहभागी एक नेतालाई यही प्रश्न गरेका थियौँ । ‘सबैभन्दा पहिले त अहिले एमालेले गर्दै आएको संसदको विरोधलाई अन्त्य गरौँ र एमसिसी पारित गरौँ भन्ने प्रस्ताव प्रधानमन्त्री देउवाको हो,’ ती नेताले भने, ‘एमालेले चाहिँ आफ्ना पहिलेका मागहरु दोहोर्याएको छ । उसले आफूले कारवाही गरेका १४ सांसदलाई निलम्बन गर्नु पर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने माग राखेको छ ।’ उनका अनुसार प्रधानमन्त्री देउवाले एमालेसँग सबै विषयमा छलफल गर्न आफू तयार भएको ‘वचन’ दिएका छन् ।



छलफल सकारात्मक भएपछि कांग्रेस एमाले मिलेर नयाँ समीकरणका साथ अगाडि बढ्ने सम्भावना बढेको छ । यसका लागि सैद्धान्तिक छलफलमा संघीय सरकारमा पनि एमालेको सहभागिता हुने र प्रादेशिक सरकारमा एमालेले नेतृत्व गर्ने विषयमा पनि छलफल भएको थियो । ती नेतासँगको कुराकानीका आधारमा कांग्रेस एमाले छलफलमा भएका ३ विषयः

१. १४ सांसदलाई कारवाही, सभामुखको बर्हिगमन

नेकपा एमालेले आफूले कारवाही गरेका १४ सांसलाई प्रतिनिधिसभामा सहभागी गराउन नहुने माग राख्दै लामो समयदेखि प्रतिनिधिसभा बैठकमा नै अवरोध सिर्जना गर्दै आएको छ । उसले सभामुख अग्निप्रसाद सापकोटाले एउटै विषयमा फरक फरक नजिर स्थापना गर्न खोजेको आरोप लगाउँदै संविधानविपरित राजनीतिक काम सभामुखले गरेको आरोप लगाउँदै आएको छ । 

अदालतले तत्कालीन नेकपालाई एमाले र माओवादी केन्द्रमा विभाजित गरिदिएपछि एमालेविरोधी गतिविधिमा लागेको भन्दै एमालेले माधवकुमार नेपालसहित १४ जनालाई पार्टीबाट र संसदबाट निस्कासन गरेको थियो । त्यस्तै, माओवादी केन्द्र छाडेका चार जनालाई माओवादी केन्द्रले निस्कासन गरेको थियो । माओवादी केन्द्रको सूचना टाँस गरे पनि सभामुख सापकोटाले एमालेले गरेको कारवाहीको सूचना टाँस गरेका थिएनन् । माओवादी केन्द्रका तत्कालीन चार सांसदले एमाले रोजेका थिए, पछि उनीहरुलाई अदालतले पुनस्र्थापित गराइदिएको थियो ।

यही विषयमा एमालेले भदौ देखि नै सदनका बैठकहरुमा विरोध जनाउँदै आएको छ । अहिले कांग्रेससँगको वार्तामा पनि नेकपा एमालेले प्राथमिकताका साथ यी विषय उठाएको छ । ‘१४ सांसदमाथि कारवाही गरिनु पर्छ, उनीहरु प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुहुँदैन,’ एमालेले राखेको प्रस्तावबारे कांग्रेसका ती नेताले फरकधारलाई जानकारी दिए, ‘अनि सभामुखको बर्हिगमन हुनुपर्छ भन्ने एमालेको माग हो । यो विषयमा लामै छलफल भएको छ ।’

ती नेताका अनुसार देउवा यसमा पनि सकारात्मक भएका छन् । उनले सभामुख सापकोटालाई हटाउने विषय चाहिँ पहिले एसिसी पारित गरेपछि सुरु गर्नु पर्ने धारणा राखेका छन् ।

 

२. एमसिसी 

यो छलफलमा सबैभन्दा बढी प्राथमिकतामा परेको अर्को विषय हो, एमसिसी । अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्ने तयारी गर्दा नै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विरोध गरेका थिए । त्यसपछि एमालेसँगको सहकार्यमा एमसिसी पारित गर्ने उद्देश्यमा छन्, देउवा ।

देउवाले संसदको गतिरोध अन्त्य गरेर एमसिसी पारित गर्नेमा आफूलाई एमालेको साथ चाहिएको र त्यसका लागि एमालेका सर्तहरु आफूले मान्न तयार भएको ओलीलाई बताएका छन् ।

‘एमाले पनि एमसिसी पारित गर्ने विषयमा सकारात्मक नै छ,’ ती नेताले भने, ‘उसले आफूहरु कहिल्यै एमसिसीको विरोधमा नभएको बताउँदै आएको छ ।’ एमसिसीलाई आफूहरुले राष्ट्रघाती नभनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नै नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको बैठकमा जानकारी दिएका थिए ।

 

३. सरकारमा सहभागिता, गठबन्धनबाट कांग्रेस अलग हुनुपर्ने

नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएमा सरकारमा सहभागिता कसरी हुने भन्ने विषयमा पनि छलफल भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संघीय देखि प्रादेशिक सरकारमा समान सहभागिता हुने विषयमा छलफल बिहीबारका दुई बैठकमा भएका छन् ।

छलफलमा संघीय सरकारमा देउवालाई नै निरन्तरता दिने र सात प्रदेशमध्ये कम्तिमा चार प्रदेशमा एमाले नेतृत्व सरकार बनाउने विषयमा छलफल भएको ती नेताले बताए । ‘गण्डकी र कर्णाली प्रदेशको नेतृत्व कांग्रेसलाई नै दिने र अन्यमा एमाले नेतृत्व ल्याएर चुनावमा जाने विषयमा पनि छलफल भएको छ,’ ती नेताले भने, ‘यसमा झन्डै झन्डै सहमति पनि भएको छ ।’

यी दुवै छलफलमा नेकपा एमालेका नेताहरुले गठबन्धन तोडिएको घोषणा कांग्रेसले गर्नु पर्ने माग पनि गरेका छन् । ‘हामीले मिलेर देशलाई निकास दिनुपर्छ,’ छलफलमा देउवाले भनेका छन्, ‘अब सिनबाट माओवादीलाई आउट गरौँ ।’

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार ७:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया