अपदस्थ प्रधानमन्त्रीका पक्षमा उभियो श्रीलंकन संसद्

कोलम्बो– श्रीलंकन संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनःस्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । 

बुधबार भएको मतदानमा ठूलो सङ्ख्यामा सांसदले विक्रमासिंघेलाई पुनःस्थापित गर्नुपर्ने पक्षमा मतदान गरेका अधिकारीहरूले जनाएका छन् । 

शक्तिसंघर्ष थप चर्किन नदिन यो नै सबैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसद्ले पारित गरेको प्रस्तावमा उल्लेख छ । 

विक्रमासिंघेको पार्टी र गठबन्धन पार्टीबाट सदस्य भएका गरी संसद्का ११७ सदस्यले उनको पुनःस्थापनाको पक्षमा मतदान गरेका हुन् । श्रीलंकाको संसद्मा कुल २२५ सदस्य हुन्छन् । 

संसद्ले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षणसमेत गराएको समाचार छ । 

संसद्को निर्णयपछि विक्रमासिंघेले भनेका छन्, ‘मलाई विश्वासको मत दिएर संसद्ले मेरो पुनःस्थापनाको निर्णय गरेको छ, त्यसले गत अक्टोबर २६ मा भएको गलत काम सच्याउने मौका दिएको छ ।’ 



सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, संसद् र अदालत दुवैले त्यो नियुक्तिलाई अवैध भन्दै खारेज गरिदिएका थिए । 

विक्रमासिंघे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् । 



  • प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार २१:३३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया