गठबन्धन जोगाउने कसरतमा शीर्ष नेताहरू, छुट्टै विकल्पको खोजी
कांग्रेसलाई सहज नभएको माओवादी बुझाइ

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल भएपछि बोलाइएको दोस्रो बैठक पनि स्थगित भएको छ ।

अहिले राजनीतिक दलहरू एक अर्कामा सहमतिको खाका तयार गर्नका लागि दौडधुपमा छन् । विशेषगरी सत्ता गठबन्धनभित्र एमसिसीको विषयलाई लिएर मत बाझिएपछि राजनीतिक माहोल गिजोलिएको हो । 

खासमा एमसिसी अनुमोदन गर्नका लागि कार्यसूचीमा समावेश गरेर प्रधानमन्त्री शेरबहादुर देउवा कसरतमा लागेका छन् । उनले संसद बैठक अवरोध गर्दै आएको एमालेसँग आन्तरिक सहकार्य बढाएपछि भने सत्ता गठबन्धनका नेताहरू झस्किएका छन् ।

आज बस्ने भनिएको बैठक स्थगित हुनुअघिसम्म माओवादी नेताहरू प्रचण्ड निवास खुमलटारमा भेला भएर आन्तरिक रणनीति बनाइरहेका थिए । यता, सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर बैठक सार्न अनुरोध गरे । 

बैठक स्थगित हुनासाथ प्रचण्ड सचिवालयले माओवादीको बैठक सकिएको र गठबन्धन जोगाउनका लागि अन्तिम प्रयास गर्ने निर्णय भएको बताएको छ । 

छुट्टै विकल्पको खोजी



एकातिर सत्तारूढ गठबन्धन धर्मराइरहेको छ । कम्तीमा स्थानीय निर्वाचनसम्म गठबन्धन जोगाउन पर्ने गरी कसरत गरिरहेको माओवादी केन्द्रले गठबन्धन जोगाउने र एमसिसीका अनुमोदनमा सहयोग गर्ने गरी आन्तरिक छलफल गरेको छ । 

एक वर्षदेखिको संवादहिनतालाई तोड्दै माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार दिउँसो वार्ता पनि गरेका थिए । 



माओवादी बैठकमा सहभागी भएका माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले फरकधारसँग भने, ‘एमसिसीको विषयमा हाम्रो स्ट्यान्ड यथावत छ । गठबन्धन जोगाउने संभावनाहरूको अझै खोजी गर्ने र त्यसका लागि केही समय लिएर छलफल अघि बढाउने सहमति पार्टीभित्र भएको छ।’

जसका लागि आज दिनभर नेताहरूले आन्तरिक तयारी गर्नका लागि समय पाएका छन् । एमालेसँग प्रधानमन्त्रीले गरेको संवादबाट झस्किएको माओवादीले एमसिसीको विषयमा भने सडकमा समेत विरोध जारी राखेको छ । 

नेता गजुरेलले भने, ‘मतदान भएको खण्डमा हामी विपक्षमा मत हाल्ने कुरामा दुईमत छैन । त्यसो गर्दा हामीले सरकार छाड्नुपर्छ । सरकारमै बस्ने अनि विपक्षमा मतदान गर्ने पनि हुँदैन । त्योभन्दा अगाडि नै अरू कुनै उपायमा छलफल अघि बढ्दैछ ।’

कांग्रेसलाई सहज नभएको माओवादी बुझाइ

एकातिर प्रधानमन्त्री देउवाले एमालेसँग आन्तरिक तयारी गरिरहेको भए पनि अवस्था भने त्यति सजिलो नभएको माओवादी केन्द्रको बुझाइ छ । 

अहिलेको सभामुखलाई हटाउनपर्ने माग एमालेले राखिरहेको छ अथवा आफ्ना १४ जना सांसदलाई कारबाहीको सूची सार्वजनिक गर्नपर्ने विकल्प एमालेले दिएको छ । चुनावपछि कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले भएको कारणले पनि अहिले नै गठबन्धनभन्दा बाहिरको विकल्पमा जान कांग्रेसलाई सहज नभएको माओवादीका एक शीर्ष नेता बताउँछन् ।

‘कांग्रेसलाई पनि अहिले त्यति सजिलो छैन । एमालेसँग मिल्नका लागि पनि सजिलो छैन । सभामुखलाई हटाएर एमसिसी पास गराउँदा त अन्तर्राष्ट्रिय समुदायमसम्म पनि म्यासेज त नराम्रो जान्छ’, ती नेता भन्छन्, ‘सभामुखलाई पदबाटै हटाएर अन्य शक्तिसँग मिलेर एमसिसी पास गराउँदा राम्रो हुँदैन । चुनावपछि त फेरि बन्ने गठबन्धन नै हो । कांग्रेसको प्रतिस्पर्धी त एमाले नै हो नि ।’

उता, प्रधानमन्त्री देउवा पूरै कार्यकाल आफूले नै सरकार चलाउनपर्ने मतमा बलियो भएको ती नेता बताउँछन् । 

‘शेरबहादुरजीले पूरै कार्यकाल चलाउँछु भनेर प्रधानमन्त्री बनेका हुन् । उनलाई पनि यो पूरै कार्यकाल चलाउनैपर्ने छ । सभामुख हटाउँदा एमालेले नै सभामुख आफैंले राख्छ । राष्ट्रपति आफैंले पाएको एमालेले सभामुख पनि पायो भने त फेरि के के गर्छ के के’, ती नेताले भने ।

कांग्रेस एमालेको ‘पुच्छर’ बनेर चुनावमा जानुपर्ने अवस्था आउनसक्ने ती माओवादी नेताको बुझाइ छ ।

उनले भने, ‘कांग्रेस एमालेको पुच्छर बन्नुपर्छ । एमसिसीको क्रेडिट पनि एमालेलाई नै जाने त्यो हुँदा कांग्रेसलाई पनि घाटैघाटा छ ।’

  • प्रकाशित मिति : फागुन १३, २०७८ शुक्रबार १४:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया