‘जीवन काँडा कि फूल’ कृतिमा चलचित्र निर्माण

काठमाडौं- साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । 

करिब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायांकन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको संघर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले ६ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत ६५ लाख रहेको जानकारी दिए । 

नेपाल पत्रकार महासंघ काठमाडौँका सभापति सन्तराम बिँडारीले जीवन्त कथावस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन संघर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । 

चलचित्र निर्माता संघका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपांगता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पुर्याउने बताउँदै चलचित्रको संक्षिप्त कथावस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कलाकार मोहन निरौला, संगीतकार राजु सिंहलगायतले शारीरिक अपांगता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पुर्याएको बताए । 

चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय छ भने गायिका जुनु गौतमले गीत गाएकी छिन् । 

 





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार ८:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया