नागरिकता विधेयक-२०७५ स्थगित गर्न माग

भरतपुर- नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एसाेसिएशनद्वारा बिहीबार संयुक्तरुपमा यहाँ आयोजित अन्तरक्रियामा उनीहरूले नेपालको नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न ल्याएको नागरिकता विधेयक-२०७५ स्थगित गर्न माग गर्दै आफ्नो खुट्टामा आफैंले बञ्चरो नहान्न सरकारसँग आग्रह गरेका थिए । 

राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले अहिलेको विधेयक राष्ट्रघाती रहेको बताउँदै सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्न माग गरे । उनले भने, ‘अहिलेको विधेयक विसं २०६३ भन्दा पनि खुकुलो छ । यो विधेयक विदेशीलाई नागरिकता वितरण गर्नाका लागि ल्याइएकाले यसलाई तत्काल स्थगित गरी स्वीकार्य सर्वाधिकारसम्पन्न नागरिकता छानबिन आयोग गठन गरिनुपर्छ ।’ 

बाराका जिल्ला अध्यक्ष कमलराज पाठकले ‘नेपालको नागरिकता ऐन-२०६३ लाई संशोधन गर्ने विधेयकले उब्जाएको प्रश्न विषयक’ कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त ऐनलाई संशोधन गर्न ल्याइएको यो विधेयक झन् कमजोर रहेको बताउँदै उनले भने, ‘अहिले ल्याइएको विधेयक राष्ट्रघाती भएकाले यसलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ, नत्र यसले राष्ट्रलाई सिक्किमीकरणतर्फ धकेल्छ ।’ 

नेपालमा जनसङ्ख्या अतिक्रमणको समस्याले नागरिकतामा समस्या आएको चर्चा गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने, ‘अहिले ल्याइएको विधेयक रिजेक्ट गर्नुपर्छ, यो विधेयक नेपालीको हितमा छैन ।’

सीमाविद् हेमन्त सेढाईंले नेपाल–भारत सिमानामा काँडेतार लगाउनुपर्ने बताए । अर्का सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, ‘नागरिकता भनेको पार्टीको पर्चा होइन, जसले जतिबेला जहाँ पनि वितरण गर्न सकिने । खुला सिमाना जहिलेसम्म नियमन हुँदैन, त्यसबेलासम्म नागरिकताको समस्या आइरहन्छ ।’ 

संविधानविज्ञ पूर्णबहादुर कार्कीले कसैलाई जन्मको आधारमा नागरिकता दिँदै जाने हो भने तराई मधेसका रैथाने समुदायहरु मर्कामा पर्ने र नागरिकता वितरणमा भएको खुकुलोपनले हिमाल, पहाड र तराईमा असन्तुलन बढ्दै जाने बताए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार ९:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया