पन्जिकरण हुने सवारी संख्या आठ हजार मात्रै

काठमाडौं– यातायात व्यवस्था विभागमा पन्जिकरण हुने सवारीको संख्या आठ हजार मात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मंसिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने सूचना विभागले मंसिर २२ गते प्रकाशित गरेको जानकारी गराएको थियो । 

विभागमा पन्जिकरण हुन तोकिएको आठ महिनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पन्जिकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिका समेत जारी गरेको थियो । 

कम्पनीमा दर्ता भएर विभागमा पन्जिकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिइने विभागले जनाएको छ । यसअघि संघ संस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको थियो । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार हट्ने विश्वास गरिएको छ । 

यसअघि गत असारसम्म २९२ यातायात समितिमा दुई लाखभन्दा बढी सवारी आबद्ध थिए । सवारी कम्पनीमा दर्ता नभई सञ्चालन हुँदा यात्रुले दुःख पाउने गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार १७:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया