कांग्रेसस महासमिति बैठक जारी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले स्रघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ भएको छ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भइसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा सुरु भएको हो । 

आगामी पुस ३ गतेसम्म चल्ने बैठकका लागि यसअघिका २ सय ४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झन्डै एक हजार ६ सय प्रतिनिधि सहभागी छन् । 

बन्दसत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच विषयका दस्तावेज पेस हुनेछन् । बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले सांठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेस गर्नेछन् । 

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ । महासमिति बैठकमा उक्त प्रतिवेदन छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ । 

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने कांग्रेसको विधानमा उल्लेख छ । 

त्यस्तै, विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि २०७२ सालमा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन । 



कांग्रेससकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि कांग्रेससकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक हुन लागेको छ । मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेससको यो महासमिति बैठकलाई सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको छ । पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रेससजनको अपेक्षा छ । 
 



  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १३:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया