धार्मिक कार्यक्रममा प्रसाद खाँदा भारतमा ११काे मृत्यु, ९३ बिरामी

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । 

प्रसाद खाएकामध्ये ९३ जना बिरामी परेका छन् । तीमध्ये २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । बिरामी भएकाहरूलाई कर्नाटक राज्यको माइसोरमा रहेका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 

घटनास्थलनजिकै रहेको स्वास्थ्य कार्यालयका अधिकृत के.एच. प्रसादले मन्दिरमा वितरण गरिएको प्रसादमा विषाक्त पदार्थ मिसिएको हुन सक्ने बताए । उनले सो विषाक्त खानाको परीक्षणका लागि प्रयोगशालामा लगिएको पनि जानकारी दिए। परीक्षण र अनुसन्धानपछि मात्रै सो खाना कसरी विषाक्त भयो भन्ने यकिन हुने उनको भनाइ छ । 

बिरामीहरूलाई बान्ता हुने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुनेलगायत लक्षणहरू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा शुक्रबार उक्त घटना भएको हो । एउटा विशेष धार्मिक कार्यक्रम भइरहेको सो मन्दिरमा आएकाहरूलाई प्रसाद वितरण गरिएको थियो । 

‘हामीलाई पूजा सकिएपछि गोलभेँडा र भात खान दिइएको थियो, जसमा अलि नमीठो गन्ध आइरहेको थियो,’ उक्त धार्मिक कार्यक्रममा सहभागीरूले भने । विषाक्त खाना खाएर कागहरू पनि मरेको बताइएको छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार १७:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया