घाइते लडाकुको चीत्कार: ‘उपचारका लागि बैशाखी बेच्न तयार छौँ किन्ने हो ?’
तस्विर: सागर चन्द/ फरकधार

काठमाडौं– आमरण अनशन बसिरहेका पूर्वलडाकुहरुले सरकारले आफुहरुमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् । २७ मंसिरदेखि माईतिघर मण्डलामा अनशनरत पूर्वलडाकुका माग सम्बोधन गर्नुको सट्टा सरकारले उनीहरुमाथि मुद्दा चलाएर षडयन्त्र गरेको आरोप लगाएका छन् ।

पूर्वलडाकुले अनशन थालेकै दिन सरकारले पूर्वमाओवादी लडाकु युवराज विकलाई सामाजिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको छ । प्रहरीले विकलाई बिहिबार गृहमन्त्रालयबाट पक्राउ गरेर सामाजिक हितविरुद्धको मुद्दा चलाएको हो ।

अहिले माईतिघर मण्डलामा अनशनरत ६ जना पूर्वलडाकुले सरकारले युद्धकालका घाईतेमाथि सरकारले षडयन्त्र गरेको उनीहरुले बताएका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपांग संघर्ष समितिका संयोजक रहेका विकलाई प्रहरीले पक्राउ गरेपछि, उनीसँगै आएका अरु पूर्वलडाकुले माईतिघरमा आमरण अनशन सुरु गरेका हुन् ।

मंसिर ५ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अगाडी विष सेवन गरेका पूर्वलडाकु कुलप्रसाद भट्टराई (कुसुम) लाई विष खान उक्साएको भन्दै विकलाई प्रहरीले पक्राउ गरेको हो । विकलाई प्रहरीले पक्राउ गरेकै दिन कुलप्रसाद भट्टराई पुल्चोकस्थित मन्त्री निवास छिर्ने क्रममा मेटासिटसहित पक्राउ परेका थिए । 

झुट्टा आरोप लगाउँदै विकलाई पक्राउ गरेर सरकारले गणतान्त्रिक योद्धाको अपमान गरेको बताउँछन आमरण अनशनमा रहेका जुम्लाका नरविर दमाई । देशमा गणतन्त्र ल्याउन ज्यानको वलि थाप्दा पनि आफूहरु अपमानित हुनुपरेको उनीहरुले बताएका छन् ।

आक्रोश, पीडा र अपेक्षामा पूर्वलडाकु



आमरण अनशनमा रहेका जुम्लाका नरविर दमाईले विगत ९ महिनादेखि उपचार खर्च नपाएर छटपटिनुपरेको छ । भएको घर, जग्गा पनि उपचार गर्नकै लागि बिक्री गरेको बताउने नरविरसँग अब उपचार गराउन सक्ने क्षमता छैन । सरकारले तत्काल उपचार खर्च नदिए आफुहरु मर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

तीन दिनदेखि खुला आकाशमूनि अनशन बसेका नरविर भन्छन, ‘सरकारले अहिलेनै द्धन्द्धकालका घाइतेको उपचार गर्न आर्थिक सहयोग गरेन भने हामी त सडकमा  तड्पी–तड्पी मछौं ।’



उपचार खर्च पाउनुपर्ने, द्धन्द्धकालका घाईतेको परिचयपत्र पाउनुपर्ने र घाईतको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै गत माघदेखि द्धन्द्धकालका घाईतेहरु संघर्षमा छन् । सरकारले बारम्बार नीति बनाउने भन्दै आफुहरुलाई पन्छाईरहेको बताउँछिन कालिकोटकी लक्ष्मी दर्जी (कविता) । उनी भन्छिन, ‘माघदेखि आन्दोलनमा छौँ, सरकार नीति बनाउनुपर्छ भन्दै हामीलाई पन्छाइरहेको छ ।’

आफुसँगै जनयुद्धमा सामेल भएका योद्धाहरु सरकारमा हुँदा पनि पूर्वलडाकु निराश छन् । जनयुद्ध लडेर आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नै पूर्वलडाकुलाई प्रहरी लगाएर पक्राउ गर्न लगाएपछि अनशनमा बसेका पूर्वलडाकु आक्रोशित पनि भएका छन् । 

कुनै समय गृहमन्त्रालयलाई नै वर्ग दुश्मनको उपमा दिने माओवादीका सर्वोच्च नेता नै गृहमन्त्री भएपनि गृह मन्त्रालयले अहिले पनि त्यही वर्ग दुश्मनकै व्यवहार देखाएको उनीहरु बताउँछन् । नरविर भन्छन, ‘जनयुद्धकालमा गृह मन्त्रालय हाम्रो वर्ग दुश्मन थियो । अहिले पनि त्यो हाम्रो लागि वर्ग दुश्मन नै रहेछ ।’

गृहमन्त्रीसँग दर्जनौंपटक छलफल गर्दा पनि गृहमन्त्रालयले उल्टै जेल र नेलको धम्कि दिएको लडाकु बताउँछन् । अनशन बसेका जुम्लाका विरबहादुर परियार भन्छन, ‘गृह मन्त्रीसँग पनि हामी १५ पटक भन्दा बढि छलफलमा गएका थियौ । तर, उहाँले औषधि उपचारको सट्टा जेल नेलको धम्कि दिनुभयो ।’

जागिर गर्न शैक्षिक योग्यता छैन, बिहान बेलुका छाक टार्न जमिन छैन, यसकारण खुला आकाशमुनि बसेर अनशन गर्नु परेको लडाकु सुनाउँछन् । मकवानपुरका मंगलसिंह प्रजा भन्छन, ‘काम गरेर खान जमिन न जमिन बाँकी छ, न स्वास्थ्य ठिक छ । उपचार गर्न पैसा छैन, तत्कालिन माओवादीले बुर्जुवा शिक्षा पढ्न रोक लगाएर जनवादी शिक्षा पढाउने वाचा गरेको स्मरण गर्दै मंगलसिंह प्रश्न गर्छन, ‘जनवादि सटिफिर्केट दिने कुरा थियो खै त्यो कहाँ छ ?’

गरिब भएर कोही बाँच्नु नपरोस, कोही भोकै मर्नु नपरोस् भन्दै आफूहरु जनयुद्धमा लागेको स्मरण गर्दै मंगलसिंह भन्छन, ‘आज आफै गरिब भएर बाँच्नु परेको छ । आफै खान नपाएर मर्ने अवस्था आईसक्यो ।’

दश वर्षकोे जनयुद्ध र त्यसपछिका १२ वर्षमा नेताहरुले गरेका वाचा सबै झुटा लाग्न थालेका छन लडाकुलाई । नरविर भन्छन, ‘त्यतिखेर गरिने ति वाचाहरु सबै झुटा रहेछन्, अहिले थाहा भयो ।’

यस अघि दुई पटक माओवादीको नेतृत्वमा सरकार बनिसकेको छ । आफ्नै बुइ चढेर गएका नेताहरु आज आफैप्रति निर्दयी बन्दा उनीहरु निराश छन् । माओवादी नेता बादललाई बचाउनकै लागि आफ्नो छाती थापेका पूर्वलडाकु नरविर भन्छन, ‘कुनै समय उहाँलाई पछाडि राखेर हामीले हाम्रो छाति थापेका थियौँ । आज उहाँहरुलाई बचाउने हाम्रो त्यही छातिमा गोली दाग्दै हुनुहुन्छ ।’

कुनै समय माओवादी नेताको सुरक्षा गार्डको रुपमा जनमुक्ति सेना हुन्थे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा उनको सुरक्षा गार्डमा माओवादी लडाकु तैनाथ थिए । यही तथ्य स्मरण गर्दै नरविर भन्छन, ‘हिजो त हामी उनको रक्षाको लागि गार्ड थियौँ । अहिले हामी मन्त्रालयमा गयौ भने यहाँ डिस्टर्व हुन्छ । भिआइपी मानिस आउँछन् हाम्रो ईज्जत जान्छ भन्दै गलहत्याएर निकालिन्छ ।’

आफैँ हिँडेर आएको बाटोलाई घृणा गर्ने मान्छे अपराधी सरह भएको लडाकुको ठहर छ । बर्दियाका लिलाचन्द्र कामी प्रश्न गर्छन, ‘यस्ता मान्छेलाई हामीले नालायक, पापी, अपराधी भन्ने ?’ लिलालाई बिचमै रोक्दै नरविर भन्छन, ‘यस्ता मान्छेलाई सम्बोधन गर्ने हामीसँग कुनै शब्द नै छैन ।’

देशमा नयाँ संविधान र गणतान्त्रिक राज्य व्यवस्था आएको भनेर गर्व गर्ने नेतालाई लक्षित गर्दै नरविर भन्छन, ‘नेताहरुले र राज्यको उच्च निकायमा बसेका मानिसहरुलाई आफुले चिल्ला गाडि चढ्दैमा गणतन्त्र आएको महसुस नगर्न अनुरोध गर्छु ।’

‘कसैको शरिरमा गोली हुनेछैन् । कोही भोको बस्नुपर्ने छैन् ।’ प्रधानमन्त्री केपी शर्मा ओेलीले लडाकुलाई आश्वासन दिँदै भनेका थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारकै समयमा लडाकुहरु उपचार खर्च नपाएर, नागरिकता धितो राख्दै काठमाडौंमा आन्दोलनरत छन् ।

अहिले आमरण अनशन बसेका ६ जना सहित २ सय भन्दा धेरै लडाकु काठमाडौंमा छन् । काठमाडौंमा संघर्षरत यी लडाकुले होटलमा खाना खानको लागि नागरिकता र पासपोर्ट धितो राखेको नरविरले सुनाए ।

द्धन्द्धकालमा घाईते भएका लडाकुहले अहिले सरकारसँग राखेको एउटै माग हो ‘सरकारले बाँच्ने आधार बनाईदिनुपर्छ ।’ यही माग लिएर गृहमन्त्रीलाई भेटन पुगेका कुलप्रसाद भट्टराई अहिले कहाँ छन भनेर अत्तोपत्तो छैन् । बिहिबार मात्रै पुल्चोकस्थित मन्त्री निवासको गेटबाट पक्राउ परेका कुलप्रसादलाई गृहमन्त्रालयले नै नियन्त्रणमा राखेको हुनसक्ने शंका गर्छिन् लक्ष्मी ।

नीति छैन भन्दै अल्झाउँदै सरकार

अहिले सरकारले पूर्वलडाकुको लागि पर्याप्त नीति नभएको बताउनुलाई पनि लडाकुले आफूहरुलाई देशले बहिष्कार गरेको सम्झिन्छन् । नीति निर्माण गर्न लामो समय लाग्ने भएकाले सरकारले नीति निर्माणको बखेडामा आफुलाई अल्झाउन खोजेकोे उनीहरु बताउँछन् ।

नीति निर्माणमा व्यतित हुने समयसम्म आफुहरु उपचार नपाएरै मर्ने संभावना देखेर नै सरकारले नीति निर्माण भन्दै अल्झाउने प्रयास गरेको बताउँछन नरविर । नरविर भन्छन, ‘तत्कालै उपचारमा रहेका घाइतेलाई उपचार खर्च देओस जसले गर्दा उ विना चिन्ता उपचार गर्न सकोस् । त्यो नीति निर्माण गर्न त सरकारले ५ वर्ष पनि लगाउन सक्छ’ आक्रोशित हुँदै उनी सरकारलाई प्रश्न गर्छन, ‘त्यो कागजको खोस्टो पकाएर खान मिल्छ ?’ 

गणतन्त्र स्थापित गर्न संघर्ष गर्दा शरिरका अंग गुमाएका लडाकुहरु सरकारले चाह्यो भने आफुहरुको समस्या तत्काल समाधान हुनेमा विश्वस्त छन् । अनशनमै बसेका कालिकोटका मन दर्जी भन्छन् ‘सरकारले चाहे त हुन्थ्यो नि, चाहँदैन र पो ।’ ३ दिनदेखि खुला आकाशमा बसिरहेका मन अगाडी भन्छन्, ‘हामीसँगै युद्धमा लड्नुभएका साथीहरु नीति निर्माणको तहमा हुनुहुन्छ । उहाँहरुले चाहने हो भने तत्कालै यो समस्या समाधान हुन सक्छ ।’

घाईते लडाकुको आर्थिक अवस्था दयनिय भएकाले पनि सरकारले पहिला उनीहरुलाई एक छाक जुटाउने व्यवस्था मिलाउनुपर्ने लडाकुको माग छ । माईतिघरमा अनशनरत कालिकोटका संग्रमी सार्की भन्छन्, ‘पेट भर्नको लागि खाना चाहिन्छ । सरकारले त्यो पहिला व्यवस्था गरिदेओस ।’

सरकार र नेताहरुले स–सना कार्यक्रममा लागि खर्चने करोडौं रकमको केही अंश मात्रै पनि आफूहरुलाई दिए आफूहरुको समस्या समाधान हुने लडाकु बताउँछन् । संग्रम भन्छन, ‘सरकारले सानो कार्यक्रमको लागि करोडौं रुपैयाँ खर्च गर्छ, त्यही पैसाबाट उपचार खर्च राज्यले दियो भने हामी यसरी भिख माग्न त आउँदैनौं नि ।’
गृहमन्त्रीसँग वार्ता गर्दैनौं

यसअघि पनि बारम्बार सरकारले घाईते लडाकुलाई व्यवस्थापन गर्छु भनेर दिएको आश्वासनलाई व्यंग्य गर्दै लक्ष्मी भन्छिन, ‘उनीहरुले भनेको व्यवस्थापन यही सडकको किनार रहेछ ।’

गृहमन्त्रीकै अगाडी लडाकुले विष पिउँदा पनि मौनता साँध्ने र उल्टै झुट्टा आरोपमा घाईते लडाकुलाई जेल पठाउने गृहमन्त्रीसँग कुनै हालतमा वार्ता नगर्ने बताउँछन् लडाकु । एक लडाकु भन्छन, ‘सरकार हामीलाई सिध्याउन चाहन्छ । त्यही भएर हामी अब गृहमन्त्रीसँग वार्ता गर्दैनौ ।’

संसदीय व्यवस्थाको कुटिल चरित्र बुझेरै कुनै समय संसदीय व्यवस्थाको विरोध गरेको बताउने नरविरले संसदीय व्यवस्थाको मोहमा माओवादी नेता फसेको बुझेका छन् । उनी भन्छन, ‘हामीले पहिले पनि संसदीय व्यवस्थाको भन्डाफोर गरेकै हो । विरोध गरेका थियाैं । आफैँले गाली गरेको संसदीय व्यवस्थाको मोहमा हाम्रा नेताहरु फसे’ संसदीय व्यस्थाको मोहजालमा फसेको ज्वलन्त उदाहरणका रुपमा गृहमन्त्री बादललाई देखाउँदै उनी भन्छन, संसदीय व्यवस्थामा गएपछि जो कोही पनि चुर्लुम्म डुब्छन् । त्यसैको उदाहरण अहिलेका गृहमन्त्री रामबहादुर थापा पनि हुन् ।’

अब सरकारसँग उनीहरु लामो छलफलभन्दा पनि ब्याटल फिल्डको शैलिमा कुरा गर्ने सोचमा पुगेका छन् । लक्ष्मी भन्छिन् ‘सैन्य फिल्डमा हामीलाई कि रोक कि ठोक’ भन्ने आदेश हुन्थ्यो । अहिले सरकारसँग हामी पनि हाम्रा सम्बोधन ‘हुन्छन वा हुदैनन्’ भन्ने निर्णय मात्रै माग गरेका छौँ ।

उपचारका लागि बैशाखी बेच्न तयार छौँ, किन्ने हो ?

द्धन्द्धकालमा लागेको चोटको उपचार गर्दा सबै जायजेथा सकिएको बताउने लडाकुसँग अब बिक्रि गर्न आफैँले प्रयोग गरिरहेको बैशाखी मात्रै छ । उपचार खर्च नपाएर बिहान बेलुका खान खान नसक्ने अवस्थामा पुगेका लडाकुहरु अब आफुसँग बिक्री गर्न बैशाखी मात्रै रहेको बताउँछन् । 

सरकारले निरन्तर गरिरहेको जालझेल र षडयन्त्रका कारण आक्रोशित बनेका नरविर भन्छन, ‘अब हामीसँग सम्पत्तिको नाममा की श्रीमती छन्, कि हामीले टेक्ने बैशाखी छन् । सक्छ भने राज्यले हाम्रो श्रीमती र बैशाखी लिएर हामीलाई उपचार खर्च देओस ।’

मंसिर ५ मा गृहमन्त्रीकै कार्यकक्षमा पूर्वलडाकुले विष सेवन गरेको स्मरण गर्दै लिलाचन्द्र भन्छन, ‘यदि सरकारले हाम्रो समस्या सुन्दैन भने हामी बाँच्न चाहन्नौं,’ मलिन अनुहार बनाउँदै उनी फेरी भन्छन, ‘हाम्रो बाँच्ने आधार नै छैन । यही सडकको पेटिमा जिवन बलिदान गर्न तयार छौं,यही सडक किनारमा नखाएर सुकेर मर्न तयार छौं ।’

अहिले माईतिघर मण्डलामा अनशनमा बसेका लडाकुमध्ये कसैको आँखामा बारुदको छर्रा छ, कसैको पेटमा, कसैको छातीमा र कसैको खुट्टामा गोली छ । कसैको खुट्टामा रड छ, कसैको खुट्टानै छैन । इन्सेकले गरेको एक अध्ययन अनुसार २०५२ देखि २०६३ सालसम्म चलेको द्धन्द्धका क्रममा देशभरमा करिब ८ सय व्यक्ति अपांग भएका थिए ।

तत्कालिन शान्ति मन्त्रालय (हाल गृह मन्त्रालय) को तथ्यांकअनुसार १०वर्षको अवधिमा १ लाख ३६ हजार ६५ जना प्रत्यक्ष युद्ध प्रभावित भएका थिए । जसमा १८ हजार ३० जनाले ज्यान गुमाएका थिए ।
 

  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार ८:३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया