दबाबमा प्रचण्ड, आजको केन्द्रीय कमिटीमा सहमति जुटाउन सक्लान् ?

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबार दुईपटक सारिएको बैठक आज बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्न लागेको हो ।

गत शुक्रबारबाट सुरु भएको बैठक शनिबार र आइतबार बस्न सकेन । माओवादीले पटकपटक केन्द्रीय कमिटी बैठक स्थगित गर्नुको मुख्य कारण सहमति जुट्न नसक्नु नै हो । पार्टीभित्र धेरै विषयमा विवाद कायमै रहेकाले आइतबार दुईपटक बैठक सर्‍यो । 

सोमबार पनि निर्धारित समयमै बैठक बस्ने सम्भावना कम छ । नेताहरूको असन्तुष्टि समाधानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिको प्रयासमै छन् । तर, उनले अहिलेसम्म मिलनबिन्दु भने भेटाउन सकेका छैनन् । जसकारण पनि केन्द्रीय कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको हो ।  

उनीमाथि अहिले नेताहरूको व्यवस्थापन र पार्टीभित्रै एमसिसीमाथि उठेको असन्तुष्टिका आवाजलाई कम गर्नुपर्ने दबाब छ । एमसिसी संसदबाट व्याख्यात्मक टिप्पणीसहित पास भएपछि सत्ता साझेदारसमेत रहेको माओवादीका केही नेताहरूले खुलेरै असन्तुष्टि पोखे ।

विशेष गरी नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, लीलामणि पोखरेललगायत माओवादीका प्रभावशाली नेताहरूले एमसिसी अनुमोदनमाथि असन्तुष्टि जनाएका हुन् । 

हुन त यी नेताहरूले पार्टीमा आफ्नो स्थान सुरक्षित गराउन प्रचण्डमाथि थप दबाब पुगोस् भनेर एमसिसीको विरोध गरिरहेको आरोप पनि लागिरहेको छ । स्थानीय तहको निर्वाचन  मिति नजिकिरहेका बेला माओवादीभित्रको बढ्दो असन्तुष्टिलाई तत्काल समाधान गर्नुपर्ने प्रचण्डमाथि ठूलो दबाब छ । 



आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटब्युरो, स्थायी कमिटी गठनलगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ ।

गत शुक्रबारको बैठकमा एमसिसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । कार्यालय सचिव ढकालका अनुसार बैठकको कार्यसूची कार्ययोजना निर्माण र संगठन हुनेछ । गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो । 



  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ९:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया