भरतपुरमा गणेशधाम बन्ने, महायज्ञमा उठ्यो झन्डै ११ करोड

भरतपुर– चितवनको भरतपुरमा गणेशधाम निर्माणका लागि १० करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालित श्रीमद्भागवत धनधाञ्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ बाट सो रकम सङ्कलन भएको हो । 

भरतपुर महानगरपालिका–११ मा रहेको एतिहासिक तथा धार्मिक क्षेत्र गणेशस्थानलाई गणेशधाममा विकास गर्न स्थानीयवासीको सहभागिता जुटाउन महायज्ञ आयोजना गरिएको मूलआयोजक समारोह समतिका अध्यक्ष दिनेशकुमार चुकेले जनाए । महायज्ञमा उठेको रकमले मात्रै गणेशधाम निर्माण सम्भव नभएकाले निर्माणको चरणमा पनि आर्थिक सङ्कलन गरिने उनले बताए । 

भरतपुर महानगरपालिका र प्रदेश सरकारले पनि गणेशधाम निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले गणेशधाम निर्माणका लागि महानगरको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाइन् । 

महायज्ञका प्रमुख वाचक पण्डित दीनबन्धु पोख्रेलले गणेशधामलाई केन्द्र बनाएर धार्मिक परिपथ बनाउनुपर्ने तथा देवघाट, मौलाकालिका, शास्वतधाम र गणेशधामलगायतका क्षेत्रले चितवन र नवलपुरलाई धार्मिक तथा आध्यात्मिक नगरिका रुपमा विकास गर्ने बताए । 

कार्यक्रममा गणेशधामको परिकल्पनाकार सांसद विजय सुवेदीलाई अभिनन्दन गरियो । धाम निर्माणका लागि प्रदेश–३ सरकारले समेत ८० लाख विनियोजन गरेको छ । 

गणेश धामको डिपिआरसमेत तयार भइसकेको छ । डिपिआरअनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान छ । ४४ बिघा क्षेत्रफलमा गणेशधाम निर्माण गर्ने योजना छ । २५ बिघामा पोखरी निर्माण गरिनेछ । डिपिआरअनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव–पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायत संरचना निर्माण हुनेछ । 





  • प्रकाशित मिति : पुस १, २०७५ आइतबार १७:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया