विश्वकप क्रिकेटमा इंग्ल्याण्डमाथि वेस्ट इण्डिजको रोमाञ्चक जित

आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा वेस्ट इण्डिज विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा वेस्ट इन्डिजले इंग्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हात पारेको हो । 

२२६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २१८ रनमा समेटियो । उसका लागि तामसिन बोउमोन्टले सर्वाधिक ४६ रनको योगदान दिइन् । ७६ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् ।

सोफिया डन्कलेले ३८, डेनियल वायटले ३३ र क्याथरिन क्रसले २७ रन बनाउँदा अविजित रहेकी सोफी एक्लेस्टोनले ३३ रन जोडिन् । छैटौं विकेटका लागि सोफिया र डेनियलले ६० तथा नवौं विकेटका लागि सोफी र क्याथरिनले ६१ रनको उत्कृष्ट साझोदारी गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।  

वेस्ट इन्डिजका लागि शमिलिया कन्नेलले ३, हेली म्याथ्युज र अनिसा मोहम्मदले २/२ तथा आलिया एलिने र कप्तान स्टेफनी टेलरले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।  

यसअघि डुनेडिनस्थित युनिभरसिटी ओभलमा टस जितेर ब्यटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेमेन क्याम्पबेलले अर्धशतकीय पारी खेलिन् । ८० बलको सामना गरेकी उनले ४ चौकीसहित ६६ रन बनाइन् ।

चेडियन नेसन ४९ रनमा अविजित रहँदा हेली म्याथूजले ४५ र डियन्द्र डोटिनले ३१ रन जोडे । पाँचौं विकेटका लागि शेमेन र चेडियनले १२३ रनको शतकिय साझेदारी गर्दै वेस्ट इन्डिजको पारीलाई उकासेका थिए । 



इंग्ल्याण्डका लागि सोफी एक्लेस्टोनले ३ तथा नेटली स्काइभरले १ विकेट हात पार्दा २ विकेट रन आउटको रूपमा प्राप्त भयो ।  यो जितसँगै वेस्ट इन्डिजले २ खेलमा ४ अंक जेड्दा दुवै खेल गुमाएको इंग्ल्याण्ड अंकविहीन छ । 

वेस्ट इण्डिजले पहिलो खेलमा आयोजक न्युजिल्याण्डलाई ३ रनले पराजित गर्दा इंग्ल्याण्डले अस्ट्रेलियासँग १२ रनको हार बेहोरेको थियो ।   



  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार ११:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया