कांग्रेसको एकमहिने अभियान : प्रतिनिधिलाई घर-घर पठाएर एमसिसीको भ्रम चिर्ने

सत्ता साझेदार दल नेपाली कांग्रेस पार्टीले स्थानीय निर्वाचन केन्द्रित अभियान थालेको छ ।

स्थानीय निर्वाचन केन्द्रित भएर ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने अभियान सञ्चालन गर्ने भएको हो । 

बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको बताए । 

अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई अपिल गर्ने भएको छ । 

अभियानका क्रममा कांग्रेसका नेता, कार्यकर्तालाई एकतावद्ध बनाएर परिचालन गरिने उनले बताए । कांग्रेसले सोही अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । 

प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धिलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नु पर्नाको कारण र यसअघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारका सम्बन्धमा जनतालाई सुसूचित गराउने लक्ष्य राखिएको छ ।



प्रवक्ता महतले एमसिसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरूले फैलाएको भ्रम चिर्न, जनतालाई सुसूचित गर्नका लागि प्रशिक्षणसमेत सञ्चालन गरिने बताए । 

यो अवधिमा एमसिसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उनको भनाइ छ । 



‘एमसीसीको बारेमा अत्यन्त नकारात्मक प्रचार गरिएको छ । दुष्प्रचार गरिएको छ । भ्रम फैलाइएको छ । त्यो भ्रमलाई चिर्नु हाम्रो जिम्मेवारी हो' उनले भने । 

कांग्रेसले अभियान सफल पार्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ । फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताए । 

अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उनको भनाइ छ । स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताए । 

कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उनले स्पष्ट पारे । 

आगामी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उनले बताए । 

‘गठबन्धनको विषयमा निर्वाचनको प्रक्रियाको छलफलको क्रममा हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ,' उनले भने, 'कार्यसमितिको बैठकले चुनावका बारेमा, चुनावी तालमेलका बारेमा, चुनावी गठबन्धनका बारेमा व्यापक छलफल गरेर निष्कर्षमा हामी पुग्छौँ' 

देशको परिस्थिति, गठबन्धन सरकारको भविष्य लगायतका तत्कालिन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे सुविचारित निर्णय लिइने उनले बताए ।

  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार २०:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया