[अन्तर्वार्ता] स्थानीय निर्वाचनमा एमालेले ५५ प्रतिशत जित निकाल्छ, भीम रावललाई अहिले कारबाही हुँदैन : शेरबहादुर तामाङ

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यसको तयारीमा तीव्र जुटिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली दिनहुँजस्तो चुनावी सरगर्मी बढाउने खालका सभाहरू सम्बोधन गरिरहेका छन् ।

उनी मात्र होइन स्थानीय तहसम्मका आफ्ना कमिटीलाई चुनावी तयारीका लागि पार्टीले आन्तरिक सर्कुलर नै गरिसकेको अवस्था छ । सर्वोच्च अदालतको परमादेशबाट सत्ता छाडेर प्रमुख प्रतिपक्षी बनिरहेको एमालेले लामो समयदेखि संसद् अवरुद्ध गरिरहेको छ । आफ्नै नेतृत्वमा दुई पटकसम्म विघटन गरेको प्रतिनिधिसभा अवरोध कायमै राखेर संसदको औचित्य नभएको पुष्टि गर्न एमाले लागिपरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित हुँदा कुनै प्रतिक्रिया नजनाएको एमाले अब त्यसको कार्यान्वयन गर्दा राष्ट्रहितमा हुनुपर्ने तर्क गरिरहेको छ । त्यसो त, एमालेकै सांसद भीम रावलले संसदमा उपस्थित भएर एमसिसीबारे राखेको तर्कले भने एमालेलाई असजिलो बनाएको थियो ।

निर्वाचन नजिकिँदै गर्दा पार्टी र अबका कार्यक्रमबारे केन्द्रीत रहेर हामीले पूर्वमन्त्री एवं एमाले नेता शेरबहादुर तामाङसँग कुराकानी गरेका छौं । प्रस्तुत छ तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश :

– तपाईंको पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो मात्रै मोरङको रंगोलीमा भन्नुभयो– अब माओवादी कोल्प्यास हुन्छ । हिजो सँगै अंकमाल गरेर हिँडेका थिए - ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । आज पार्टी दुइटा हुँदैमा प्रचण्डप्रति किन यति धेरै आक्रोश तपाईंका पार्टीका शीर्ष नेताहरूको ?



यो चाहिँ एउटा मनोविज्ञानको कुरा हो । नेपालको राजनीतिक पृष्ठभूमि हेर्दा हिंसात्मक द्वन्द्वबाट आएको होइन । राज्यसत्ता परिवर्तनका बेलामा राणाकालमा भारदारबीच द्वन्द्व भए होलान् । तर, पनि बीचमा ०५२ सालबाट जुन ढंगले उहाँ [प्रचण्ड]हरूले पहिला चुनाव नै लड्नुभएको थियो । चुनावमा कम मत आएपछि दीर्घकालीन जनयुद्धको नीति लिएर अघि बढ्नुभयो । विभिन्न कारणले त्यो सफल नहुने भएपछि ०६२/०६३ मा सेटल डाउन भयो । त्योभन्दा यता आएपछि अर्थात् उहाँहरूको ०५२ सालपछिको नीति असफल भयो ।

त्यसयता पनि उहाँहरूको गतिविधि र नीतिहरू एकदमै अस्थिर हुन थाले । तत्काल पनि उहाँहरू युर्टर्न हुने भी टर्न हुने अवस्था देखा पर्न थाल्यो । एक दिनअघि एउटा अडानमा, भोलिपल्ट त्यही चिज पास गर्ने ठाउँमा उभिएका कारणले यो पार्टीको स्वरूप ग्रहण गर्ने कुरामा शंका पैदा भएकै हो ।



यद्यपि कुनैबेला हामीले पार्टी नै मान्यौँ । उहाँहरूलाई पनि सँगै लिएर अघि बढ्न सकिन्छ भन्ने आधारमा हामीले मिलेर चुनाव पनि लड्यौँ । ०७४ सालमा वामपन्थी मिलेर चुनाव लड्नुपर्छ भन्ने एउटा दृष्टिकोण थियो । तर, त्यसको ठीक अगाडि वामपन्थी सरकार ढालेर उहाँहरू कांग्रेससँग मिल्नुभयो । स्थानीय तहको निर्वाचनमा कांग्रेससँग मिल्नुभयो । त्यसपछि हामीले पहल गर्दा उहाँहरूले मान्नुभयो र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकै ठाउँमा भयौँ ।

त्यसपछि पार्टी एकता गर्नुपर्छ भन्ने ठाउँमा पुग्यौँ र गर्‍यौँ । त्यसलाई टिकाएर अघि बढ्नुपर्थ्यो । त्यसलाई टिकाएर अघि बढ्नु कता हो कता, त्यही अध्यक्षको प्रधानमन्त्रीलाई निर्मम ढंगले प्रहार भयो । र अन्ततः पार्टी एक ठाउँमा बस्न नसक्ने अवस्था भयो । यो सबै उहाँहरूको स्वरूप हेर्दाचाहिँ मलाई लाग्छ - उहाँहरू पार्टीको स्वरूपका लागि जुन डेडिकेसन चाहिन्छ, स्थिरता चाहिन्छ त्यसको  अभाव छ ।

– तपाईं प्रचण्डलाई अस्थिर भन्नुहुन्छ । तर, हिजो माधवकुमार नेपाल समूहमा हुनुभएका तपाईं एउटा पद पाएपछि अध्यक्ष ओलीसँग लपक्कै टाँसिनुभयो, के तपाईंले स्थिरताको कुरा गर्न सुहाउँछ ?

म माथि त्यो आरोप पनि छ । म माथि केही साथीहरूले अहिले पनि प्रश्न गरिरहेका छन् । तर, त्यतिबेला परिस्थिति के हो भने- तपाईंले भनेको जस्तो बहुत गल्ती गर्यो भन्ने लाइनबाट मैले बोलेको छैन । मिडियाका सबै कुराहरू खोतल्दा मैले त्यसरी बोलेको देखिन्न । अर्को दोस्रो कुरा, म नेकपा एमाले बचाउन चाहन्थेँ । नेकपा एमाले जहाँ उभियो म त्यहीँ उभिन चाहन्थेँ ।

एमालेको दृष्टिकोण, मनोविज्ञान, सिद्धान्त र कार्यक्रम जहाँ छ म त्यसैको कार्यकर्ता हो । मलाई त्यसको कार्यकर्ता हुन पाउँदा गर्व लाग्छ । मलाई कुनै पछुतोबोध र हीनताबोध छैन । गर्वका साथ भन्छु, केपी ओलीले अहिले एमालेको नेतृत्व गरिरहनुभएको छ म त्यसको कार्यकर्ता हुँ ।

इतिहासमा फर्केर हेर्दा मैले गल्ती गरेँ कि भनेर मलाई अहिले पनि लाग्दैन । जतिबेला मैले पार्टी नै मिलेको अवस्था थियो त्यतिबेला नेतृत्व मिलेर बसे हुथ्यो भन्ने लाग्थ्यो ।

मूलतः केपी ओली र माधव नेपाल मिले हुन्थ्यो भनेर तीव्र भावनाका साथ लाग्ने एक जना पात्र म हुँ । उहाँहरू दुई जनाको मिलन गराउन कोसिस गर्दा पनि भएन । अन्तिममा एमाले कहाँ बस्छ त भन्ने भयो ? एमाले आफ्नो दृष्टिकोण र यथार्थमा हुन्छ । त्यसको अध्यक्षले अगुवाई गर्छ । नेकपा एमालेले लिएको दृष्टिकोण र सिद्धान्त छाडेर यसका कार्यकर्ता जाँदैनन् ।

– आफूमात्र सर्वेसर्वा हुँ भन्ने तपाईंको पार्टीका अध्यक्ष ओली हुनुहुन्छ, अहिले तपाईंको पार्टीले संसदमा अवरोध गरिरहेको छ । अर्को पार्टी नै नखुलोस् भन्ने चाहना राख्ने एमालेको अराजनीतिक माग छ, यसमा पनि गर्व ?

खासगरी, तपाईंले जुन प्रश्न गर्नुभयो संविधानले नदिएको भनेर, त्यो प्रश्न निकै पुरानो भइसक्यो । किनभने संविधानले दिएको वा नदिएको भन्ने कुराका बारेमा फैसला गर्ने न्यायाधीशले नै भन्नुभयो । संविधानले दियो कि दिएन भन्ने व्याख्या हुँदै गर्ला ।

तर, सेटिङको आधारमा अदालतको फैसला आएको कुरा दुनियाँलाई थाहा छ । त्यस्तै, सेटिङको आधारमा अर्को फैसला नगर्ने उद्देश्यले प्रधानन्यायाधीशलाई महाभियोग लगाएको पनि थाहा छ । संविधानले दियो कि दिएन भन्ने व्याख्या जरुरी छैन ।

म के भन्थेँ भने त्यो केपी ओलीले गरेको फैसला होस् या प्रचण्ड र माधव नेपालले गरेको वा अदालतले गरेको फैसला होस् । त्यो राजनीतिक विषय हो । त्यसको अन्तिम फैसला जनअदालतले नै गर्छ ।

कहिलेकाहीँ संविधानको गलत व्याख्या हुनसक्छ । त्यही भएर अदालतको स्टेपहरू राखेको होला नि त ? एउटा तहले गलत व्याख्या गर्यो भने दोस्रो तहको पुनरावेदन हुन्छ । त्यो पनि भएन भने मुख्य अदालतमा हुन्छ । राजनीतिक विषयका मुद्दाहरू अदालतले व्याख्या गरेछ भने पनि अन्तिम फैसला जनअदालतले गर्छ । यो संविधानमा थियो कि थिएन भन्ने कुरा जनताले चुनावमार्फत गर्छन् ।

जनताले नेकपा एमालेलाई बहुमतसहित जिताइदियो भने ती सबै व्याख्या भुस हुन । गलत हुन । तर नेकपा एमालेलाई त्यही बापत दण्डित गर्यो भने हो हामीले स्वीकार्छौं कि नेपाली जनताले हिजो लिएका विघटन त्यतिबेला स्वीकार गर्छौं । जनताको कुरामा जाँच्ने कुरामा कतिपय अदालतले पनि संसदले पनि त्यो प्रष्ट स्पष्ट कानुनमा लेखेको कुरा फलो नगरेको हुनाले हामीले प्रश्न उठाएका हौं ।

दलीय शासन व्यवस्थामा दलका विधान हुन्छ । दल संचालनसम्बन्धी संविधानमा निर्दिष्ट कुराहरू र कानुन हुन्छ । दललाई केही विशेषाधिकार हुन्छन । कानुनले दिएको दलको विशेषाधिकार के हो भने, तपाईं नेकपा एमाले दलको वा अरु कुनै दलको सदस्य भएर त्यसको टिकट लिएर चुनाव लडेको छ भने संसदीय दलको विधान, पार्टीको विधान, नियम कानुन उल्लंघन गर्यो भने कारबाही गर्न पाउँछ । हामीले हटाइसक्यौं । सभामुखले त सूचना सुनाउने हो । उहाँले सूचना टाँस गर्नुभएन । पछि त्यसको १० दिनपछि कानुन ल्याइन्छ । अनि फेरि हामीले हटाएका मानिसलाई राखेर सनाखत गरिन्छ । यो हामीले त्यो कुराको विरोध गरेका हौं । एमालेले विरोध गरेको होइन कि संविधान र कानुन ठीक ठाउँमा ल्याऊँ भनेको हो । कानुनको फलो गरौँ भन्ने कुरा हो । कानुनको फलो सभामुख र संसदबाट भएन ।

फेरि अदालत पनि जाने संसदमा पनि विरोध गर्ने भन्ने प्रश्न पनि छ । हो, अदालतको विचाराधीन मुद्दामा प्रश्न नउठ्ला । तर, प्रश्नै उठ्दैन भन्नेचाहिँ गलत कुरा हो । मैले तर्क र विचार राख्न पाउँदिनँ । विचार राख्ने भएरै आफ्नो विषयमा वकिललाई राखेर सेफ गरिन्छ नि । त्यही होइन विचार ? त्यसकारण अदालतमा चलेको मुद्दामा विचारै राख्न पाइदैन भन्ने कहिलेदेखि अफवाह फैलिएको हो ? मेरो विषयमा कुनै मुद्दा पर्यो भने म त्यसको विरुद्धमा विचार राख्न पाउँदिन ?

अनि अर्को कुरा के भने, संसदमा विशेषाधिकार हुन्छ । त्यो भनेको, संसदका सदस्यहरूले संसदभित्र आफ्नो दृष्टिकोण राखेको कारणले अन्त मुद्दा लाग्दैन ।

– तपाईंले विचारको कुरा गर्नुभयो तर तपाईंकै पार्टीले उचित समयमा नै अमेरिकी सहयोग परियोजना एमसिसीमाथि विचार त राखेन नि ! भीम रावलले राख्दा पनि तपाईंहरू पूरै आक्रोशित हुनुहुन्छ नि ?

यसमा पनि दुईवटा कुरा भएको छैन । एमालेले आफ्नो कुरा स्पष्ट राखेको छ । एमसिसी नेपालको हाइड्रो र केही सडकको निर्माणका लागि त्यो परियोजना अघि बढेको हो । हिजो सम्झौता गरेकोले गरिहाल्यो । अहिलेकै सत्तारुढ दल सत्तामा भएको बेलामा सम्झौता भएको थियो । त्यतिबेला उल्लेख भएका दफाहरू जस्ताको तस्तै नेपालले अनुमोदन गर्नुपर्ने भयो । त्यही बेलामा विभाजित भयो । कुनैपनि दुईवटा मुलुकमा सन्धि हुन्छ भने त्यो अर्को सरकार हुनेबित्तिकै रद्ध हुँदैन । सम्झौता गर्दा धेरै विचार पुर्याउनुपर्छ । त्यहाँ अर्को सरकार आउनेबित्तिकै रद्ध हुने भन्ने हुँदैन । एक पक्षीय देशले त्यो देशको अर्को सरकार आउने हुन्छ भन्ने हो भने त्यो गलत कुरा हो । जब त्यो सम्झौता भएर आइसकेपछि अनुमोदनको कुरा हो ।

हामीले पार्लियामेन्टमा किन लगेको भन्दा, संशोधन गर्न थलो त अर्को कुनै छैन । संशोधन कहाँ हुन्थ्यो भने पार्लियामेन्टमा नै हुन्थ्यो । हामी नेकपा हुँदा नै त्यहाँ लगेर सांसदहरूले व्यक्तिगत दृष्टिकोण राख्थ्यो । त्यो हामीले संशोधन गर्न लायक विषय संशोधन हुन्थ्यो । त्यतिबेला छलफल हुने वातावरण बनेन । पछि नेकपा एमाले विभिन्न कारणले सरकारबाट बाहिर आएपछि अहिलेको सरकारलाई प्रेसर भयो । नेकपा एमालेले आफ्नो अडान राख्यो, हामी संशोधन गर्ने ठाउँमा उभिन्छौं । उहाँहरूले ‘व्याख्यात्मक टिप्पणी’ भनेर झारा टारेर त्यो ठाउँमा  लानुभयो । हो, हामीलाई रोष्ट्रममा गएर आफ्ना दृष्टिकोण राख्नका लागि वातावरण तयार नभएको नै हो । जसको लागि प्रि शर्तहरू थिए । ती शर्तहरू वर्तमान गठबन्धनले पूरा गरेन ।

अर्को कुरा पार्टीले प्रष्ट भनेका छौं, हामी संशोधन सहित पारित गर्ने ठाउँमा थियौं । तर, गठबन्धन पनि कायम राख्ने संशोधन नगरी पारित गर्ने ठाउँमा उहाँहरू उभिनुभएपछि त सकियो । जहाँसम्म भीम रावलको कुरा छ, उहाँ आफैंमा एकजना पार्लियामेन्ट मेम्बर पार्लियामेन्टमा आफ्नो दृष्टिकोण राख्न स्वतन्त्र छ । पार्टीले दृष्टिकोण बनाउँछन । कहिलेकाँही कुनै विषयमा पार्टीले ह्वीप जारी गर्छ । यसमा हामीले ह्वीप जारी गरेको थिएन । सांसदहरूले व्यक्तिगत आफ्नो दृष्टिकोण राख्न सक्छन, भीम रावलजीले आफ्नो व्यक्तिगत अधिकार प्रयोग गर्नुभएको हो ।

- भनेपछि उहाँलाई कारबाही हुँदैन ?

एमसिसीबारे बोल्न वा नबोल्न हामीले ह्वीप लगाएका थिएनौं । ह्वीप लगाएर उल्लंघन गरेको भए त्यो कारबाहीको विषय बन्थ्यो । जसरी १४ जना सांसदलाई हामीले केपी ओलीको पक्षमा भोट हाल्नका लागि भनेका थियौं । उहाँहरूले पार्टीको ह्वीप विपरित अर्को पार्टीको नेता शेरबहादुर देउवाजीलाई भोट हाल्नुभयो । त्यसकारण हामीले कारबाही गरेका हौं । त्यो कारबाही पनि सदर नभएको कारणले हामी विरोधमा उभिएका हौं ।

–के अब एमालेले सत्तारुढ गठबन्धन फुटाउन सकिँदैन भन्ने निष्कर्ष निकालिसकेको हो ? कि अझै यो प्रयास जारी छ ?

एमालेमाथि यो चार्ज किन लाग्नुपर्ने हो र ? पहिलो कुरा त हामी नेकपा थियौं । त्यसलाई फुटाइयो । त्यसपछि एमाले र माओवादी केन्द्र भएको थियो । त्यो एमालेलाई पनि जबरजस्ती ढंगले फुटाउनका लागि अरु साथीहरू लागे । अनि एमालेले कसलाई फुटाउँदै हिँडेको छ र ? गठबन्धनलाई फुटाउने मात्र हाम्रो लक्ष्य थियो भने अस्तिको प्रकरणमा (एमसिसी) गठबन्धन फुट्थ्यो । यदी हामी यो एमसिसीलाई जस्ताको तस्तै पास गर्ने, ओके । यदी हामी यो परमादेशी सरकारमा सहभागी हुने भनिएको थियो भने हुन्थ्यो के । अहिले सभामुख हुँदैनथे । हटिसक्थे । अहिले गठबन्धनमा सहभागी दलहरू फुट्थे । हामीले त्यो चाहेनौं । बरु गठबन्धन कायम रहोस् ।

गठबन्धन फुटाएर एमालेलाई फाइदा हुन्छ भन्ने सोचेको भए, हामी त्यतिबेलै फुटाइदिन्थ्यौं । प्रस्ताव नआएको हो र ? शेरबहादुर देउवाबाट एउटा प्रस्ताव आएको छ प्रचण्डबाट अर्को प्रस्ताव आएको छ । बाहिर बोल्ने बेलामा त उहाँहरू अनेक कुरा बोल्ने, अहिले एमालेका केपी ओलीमाथि प्रचण्ड र माधव नेपालले नै आरोप लगाउँदै बोल्ने । तर, त्यतिबेला प्रचण्ड आएर केपी ओलीको कार्यकक्षमा त्यसैगरी देउवाजी आए । देउवासँग गएर बालुवाटारमा पनि छलफल भयो । उहाँहरू चाहनुहुन्थ्यो, एमसिसी जस्ताको तस्तै पारित हुनुपर्यो । हामी सरकारमा सहभागी हुनुपर्यो । हामी चाहन्थ्यौं, सरकारमा सहभागी हुँदैनौं, एमसिसी जस्ताको तस्तै पास हुँदैन ।

यदी त्यो कुरामा सहमति भएको भए गठबन्धन अहिले रहन्थ्यो र ? गठबन्धन मात्र टुटाएर एमाले बलियो हुन्छ भन्ने ठानेको भए कमजोर बनाइसक्थ्यौं । हामीले त्यस्तो ठानेनौं । पाँच दलीय गठबन्धन अहिले चार दलीय भएको छ । चार दलमा अरु पनि दल जोडे हुन्थ्यो हामी टुटाउने पक्षमा छैनौं । जहाँसम्म मुलुकको विकास र समृद्धिको इस्यु छ त्यो उहाँहरूले नबोकेकै हो । आफ्नो स्वार्थको लागि सुरुमा जसरी माओवादी केन्द्रका अध्यक्ष र त्यो पार्टीले लिने इस्यु एमसिसीमा मान्छेहरू भन्छन्, यू टर्न । तर म भन्छु– भी टर्न । एकदमै फोर्सफुल्ली भएको देखियो । आफू टर्न भएर पास गर्ने ठाउँमा उभिने अनि आरोप चाँही केपी ओलीमाथि थोपर्ने ?

यस्तो खालको हर्कत देखेपछि वास्तवमा हामीले यो गठबन्धन कायमै रहोस् । सबै जस अपजस के हो यो सरकारले नै बोकोस् । एकातिर कांग्रेस , एकातिर समाजवादी र एकातिर माओवादी भएको बेलामा हामी किन ४ तिर पर्किएर प्रहार गर्छौं । एकै ठाउँमा एकमुस्ट होस न । हामी नेकपा एमाले हामीले गरेका काम लिएर जनताको घरमा जान्छौं । साथसाथै हामी पुनः के गर्छौं भन्ने कुराको जनताका बीचमा आश्वस्त पार्दै जान्छौं । गठबन्धन टुटाएर एमाले बलियो हुन्छ भन्ने हाम्रो चिन्तन छैन ।

–एमालेले नेपाली राजनीतिमा ठूलो हर्कत गरेको टिप्पणी हुँदै आएको छ, यही पाराले कुन दम्भका आधारमा तपाईंहरू अबको निर्वाचनमा बहुमत ल्याउँछौँ भनिरहनु भएको छ ?

अब, पहिलो कुरा केपी ओलीको को आफ्नो को बिरानो ? नेकपा एमालेको अध्यक्ष केपी ओली । नेकपा एमाले सबै केपी ओलीको केपी ओली सबै एमालेको । त्यहाँभित्र काखा-पाखा छैन । जिम्मेवारीको सवालमा कहिले कुन कार्यकर्तालाई के जिम्मेवारी, कहिले कसलाई के जिम्मेवारी होला । कोही मान्छे कुनै ठाउँको जिम्मेवारी पाउँदा अन्याय महसुस गरिरहँदा त्यहाँ अर्कोलाई त राख्नुपर्ने होला नि ? अनि अर्कोलाई चाँही अन्याय गर्ने ? पार्टीभित्र कहिलेकाहीँ हामी संसदीय राजनीतिमा भएको हुनाले राजकीय जिम्मेवारी पनि हुन्छ । ती जिम्मेवारीलाई लिएर काखा-पाखा गरेको भन्ने सोच्ने गर्छन । कोहीपनि कार्यकर्ता जिम्मेवारी विहीन भएर बस्दैन र बस्नुहुँदैन । नेकपा एमालेको सर्वसम्मत अध्यक्ष ओली नै हुनुहुन्छ । कसरी काखा-पाखा हुन्छ ?

भीम रावलले महाधिवेशनमा सर्वसम्मत नेतृत्व स्वीकार्दिनँ भनेपछि हामीले उहाँलाई जबरजस्ती लखेट्यौं ? उहाँले बकाइदासँग चुनाव लड्न पाउनुभएको छ । हामीले कहीँ कसैलाईअन्याय गरेर पेलेर ठेलेर पार्टी चलाएका छैनौँ । कतिपय सन्दर्भमा केपी ओली आफ्नो पार्टी र एक्लै । वरिपरि अरु सबै विरोधीजस्तो देखिए । धेरै साथिहरू, हिजो ओलीले सरकार चलाउँदा घेराबन्दीमा ओली नै थिए । आज गठबन्धनको सरकार हुँदा पनि सबैको समर्थकहरू त छन । केही काम नै नगरेपनि वर्तमान सरकारलाई ओलीले आलोचना गरेको जस्तो देखिन्न ।

ओलीले घर घरमा ग्यासको पाइप पुर्याउँछु भनेर आँट त गर्नुभयो नि ? गर्नै नसकिने काम हो र त्यो ? अरु विदेशीहरूसँग हुने हामी नेपालीसँग नहुने भन्ने हुन्छ र ? कुनै आलोचना गर्ने पात्रको घर अघिबाट रेल चलेन होला तर नेपालमा रेल त आइसउक्यो नि । नेपालको नदी-नालामा हामी जहाज चलाउँछौं । कमसेकम नेपालको राष्ट्रिय झण्डा फहराएर समुद्रमा पुग्ने कुरा अपराध हुन्छ ? त्यो सपना त केपी ओलीले देखेको हो नि । यो संभावना छ म गर्छु भन्नुभएको हो । ओली हुँदा त्यो पुग्छ नहुँदा त्यो संभव छैन । जो मान्छेले सपना देख्छ, समृद्धिको बाटो देख्छ त्यो मान्छेलाई काम गर्न दिनुपर्छ ।

– यसपटक पनि निर्वाचनमा रेल, पानी जहाज र घरघरमा ग्यास पाइपलाइन भन्ने एमालेको नारा छुट्दैन हो ?

हामी निर्वाचनको घोषणामा जनजीविका र पूर्वाधार विकास हामीले प्राथमिकताका साथ राख्छौं । रोजगारी र रोजगारीसँगै नेपाली जनताको खल्तीमा कसरी पैसा आउँछ भन्ने मुख्य विषय हुन्छन ।

–एमाले अहिले निर्वाचनको तयारीमा व्यापक लागेको छ । के छ तपाईंहरूको अनुमान, स्थानीय तहमा ७५३ मध्ये कति सिटमा एमालेले जित्ला ?

हामीले ०७४ सालको स्थानीय चुनावमा सिंगो नेकपा एमाले एक्लै थियो । ०७४ को स्थानीय चुनावभन्दा अहिले एमाले राम्रो ठाउँमा छ । आधारभूत तहमा जनताको तहमा जाँदा नेकपा एमालेलाई जनताले माया गरेका छन् । गाली गर्दैनन् । चुनावकै दिनकै हिसाबकिताब तलमाथि हुनसक्छ । तर, पनि नेकपा एमाले के विश्वास गर्छ भने बहुमत पालिकामा नेकपा एमालेको पक्षमा ल्याउँछ । करिब ५५ प्रतिशत पालिकाहरु नेकपा एमालेको पक्षमा आउँछ भन्ने हाम्रो मूल्यांकन छ ।

  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १८:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया