युक्रेनमा आक्रमण गरिरहेको रुसले सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ । रुसले दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लगाएको हो ।
रुसको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने पनि समावेश हुनसक्ने जनाएको छ । उसले भनेको छ, ‘यो उपाय रुसमाथि थोपिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो ।’ रुसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि लगाइएको प्रतिबन्ध अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यका साथ लगाइएको बताएको छ ।
रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरू समावेश गरिएका छन् र यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहनेछ । पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन् ।
रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ ।
प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन् । त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरू पनि समावेश छन् । –बीबीसी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।