सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : सभापति बलायर
फाइल तस्वीर

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । 

कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत जोरायलमा आयोजना गरेको आमसभामा आफ्नो धारणा राख्दै सुदूरपश्चिममा हालसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने बताएका हुन् ।

नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पार्दै सभापति बलायरले निर्वाचनमा पनि गठबन्धन नहुने संकेत गरेका हुन् । 

माओवादी र समाजवादीले एकातर्फ गठबन्धन भन्ने अर्कातिर कांग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनको भनाइ छ । ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने, यो कस्तो गठबन्धन हो ?,उनले प्रश्न गरे ।

सुदूरपश्चिममा कांग्रेस एक्लै बहुमतले विजयी हुने दावी गर्दै सभापति बलायरले अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हार बेहोर्नु परेको बताए । उनले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिएका छन् ।

कांग्रेसका नेता कार्यकर्ता र जनताले कुनै पनि हालतका आफ्नो चुनाव चिह्न ‘रुख’बाहेक अन्त मत हाल्न नसक्ने बलायरको भनाइ छ । ‘सुदूरपश्चिममा गठबन्धन छैन र हुँदैन । कांग्रेसका हातले रूख चुनाव चिह्नबाहेक अन्त भोट हाल्दैन’ उनले भने । 



सम्बोधनका क्रममा उनले निर्वाचनमा कांग्रेसबाहेक अरु कसैलाई भोट हाल्न नपर्ने र कांग्रेस बहुमतले विजय हुनेमा विश्वस्त रहन नेता कार्यकर्तालाई अनुरोध गरे ।



  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १९:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया