एमालेले काठमाडौं महानगरको मेयरमा फेरि विद्यासुन्दरलाई टिकट देला ?

३० वैशाख ०७९ को मिति तोकेर सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ-आफ्नो तयारीमा जुटेका छन् ।

महत्त्वपूर्ण रणनीतिक महानगर र नगरपालिकामा मात्रै भए पनि गठबन्धन दलहरूबीच सहकार्य हुने गठबन्धनधारी दलका नेताहरूले बताउन थालेका छन्। 

फरकधारको विशेष श्रृङ्खला ‘फरक संवाद’मा सहभागी भएका माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य गणेश साहले पनि सोही कुरा बताएका थिए ।

‘महानगरपालिकाको मेयर या केही रणनीतिक सहरको मेयर शक्तिशाली हुन्छ । त्यो ठाउँमा गठबन्धनको बीचमा एउटा समझदारी विकसित हुन्छ’, साहको भनाइ छ ।

त्यसो त, देशकै राजधानी काठमाडौं महानगरपालिकाको अबको ५ वर्षको नेतृत्व कसले पाउँछ ? भन्ने आम चासो छ । काठमाडौं महानगरमा यसअघि एमालेका विद्यासुन्दर शाक्यले जित हासिल गरेका थिए ।

अहिले पनि पार्टीले जिम्मेवारी दिए फेरि पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने शाक्यले बताइसकेका छन् । 



‘पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो’, शाक्यले भनेका छन्, ‘महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।’ 

एमालेले दोहाेर्‍याउला ? 



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको तयारी तीव्र बनाइसकेको छ । दिनहुँजसो, अध्यक्ष केपी शर्मा ओली मात्र नभई शीर्षस्त नेताहरू धमाधम निर्वाचनका सभाहरूमा सहभागी हुन थालेका छन् । 

काठमाडौंका मेयर शाक्य ओलीका निकट पात्र मानिन्छन् । शाक्यले पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू उम्मेदवारी दिने सार्वजनिक घोषणा पनि गरिसके । एमालेमा ओलीले भनेबमोजिम नै निर्णय भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमले देखाइरहेका छन् । 

महाधिवेशनबाट नै सर्वसम्मत चुनिएका ओलीले शाक्यलाई मेयरको टिकट पुनः देलान् वा नदेलान् भन्ने चर्चा एमालेवृत्तमा उठ्न थालेको छ । काठमाडौंमा मेयर शाक्यमार्फत् नै बनेका ऐतिहासिक धरोहरको प्रशंसा ओलीले प्रायजसो भाषणहरूमा गर्दै हिँड्छन् । 

०७२ सालको भूकम्पपछि निर्माण भएको धरहरा, रानीपोखरी र दरबार हाइस्कुल निर्माणलाई त ओलीले सरकारको उपलब्धिमा समावेश पनि गरेका छन् । यिनै ऐतिहासिक धरोहर निर्माणमा शाक्यले देखाएको ‘कौशलता’बाट अध्यक्ष ओली पनि सन्तुष्ट छन् । 

तर, पार्टीभित्रका नेताहरूले भने शाक्यलाई दोहोर्‍याएर टिकट दिँदा असन्तुष्टि राख्न सक्छन् । किनभने, काठमाडौं महानगरजस्तो रणनीतिक महत्त्व बोकेको सहरको मेयरमा कार्यसम्पादन क्षमता बलियो हुनपर्ने भन्दै नेताहरूले यसअघि पनि ओलीसमक्ष कुरा पुर्‍याएका थिए ।

सहज छैन

स्थानीय सरकार बनेको एक सय दिनमा १०१ काम गरेर नदेखाउँदा र बाहिरका मान्छे आएर काठमाडौं बिगारेको अभिव्यक्ति दिँदा मेयर शाक्यकाे निकै आलोचना भएको थियो ।

उनले विभिन्न विवादित गतिविधिका कारण पटक-पटक सामाजिक सञ्जालमा आलोचना खेप्दै आएका छन । चुनावताका शाक्यले काठमाडौं चक्रपथमा रेल कुदाउने, साइकल लेन बनाउनेदेखि मिनी असन बजार बनाउनेसम्मको घोषणा गरेका थिए ।

तर, काठमाडौं महानगरपालिका क्षेत्रमा साइकल लेनसमेत बन्न सकेन । उनले सहरका सडकमा देखिएका खाल्डाखुल्डी पर्ने र धुलोधुँवामुक्त अभियान सञ्चालन पनि गर्ने घोषणा गरेका थिए । अहिले पनि भित्री सडकमा खाल्डाखुल्डी ज्युँका त्युँ छन् । 

मेयर शाक्य उल्टै विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सडक बिगारेको बताउँदै आएका छन् । 

शाक्य ०४३, ०४९ र ५४ गरी तीनपटक स्थानीय तहको चुनाव हुँदा वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७४ सालको चुनावमा ६४ हजार ९१३ मत ल्याएर उनी देशकै ठूलो महानगरको मेयरमा निर्वाचित भएका हुन् ।

देशकै ठूलो महानगरमा गर्नु पर्ने जति नगरेको मात्र नभई आलोचना पनि शाक्यले खेपेको भन्दै केन्द्रीय तहका नेताहरू असन्तुष्ट छन् । 

यसअघिको निर्वाचनमा पनि टिकट वितरणको बेलामा केन्द्रीय नेताहरूले नै आकांक्षा देखाएका थिए । त्यसकारण पनि पार्टीभित्रबाट शाक्यको नाममा असन्तुष्टि बढ्दा उनले टिकट पाउने संभावना कम हुनसक्छ । 

  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १४:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया