ओलीप्रति आक्रामक गठबन्धनका नेताहरू, कसले के भने ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरूको दौडधूप बढेको छ । देशव्यापी चुनावी अभियान लागेका नेताहरू नेता-कार्यकर्ता तथा मतदातालाई आफ्नो पक्षमा तान्न आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् ।

आसन्न निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीचको भिडन्तका रूपमा हेरिएको छ । यद्यपि, चुनावी तालमेलका विषयमा अहिलेसम्म गठबन्धनमा निर्णय भने भइसकेको छैन ।

कांग्रेसभित्र एक्लै चुनावमा जानुपर्ने र गठबन्धन गरेर जानुपर्ने गरी दुई धार देखिएको छ । यता, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गर्नुपर्ने पक्षमा छन् ।

त्यसो त अहिले चुनावी अभियानलाई लिएर देश दौडाहामा रहँदा सत्ता गठबन्धनका नेताहरू नेकपा एमालेप्रति आक्रामक हुने गरेका छन् । त्यस्तै एमाले पनि सत्ता गठबन्धनमाथि आरोप लगाउन चुक्दैन ।

आज देशका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा बोल्ने क्रममा सत्ता गठबन्धन र एमालेका नेताहरू एक अर्कामा आरोप–प्रत्यारोपमा उत्रिए । विशेषतः एमालेबाट अलग्गिएको एकीकृत समाजवादीका नेताहरू ओलीमाथि खनिए । उनीहरूले ओलीलाई महाभारतका पात्र दुर्योधनसँग जोड्नसमेत भ्याए ।

कसले के भने ?



ओली गणतन्त्र विरोधी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीप्रति इंगित गर्दै गणतन्त्र उल्ट्याउन चाहनेहरूको खतरा कायमै रहेको टिप्पणी गरे ।



सिन्धुलीको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गणतन्त्र आउनु र गोरुगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै भएको भन्ने मान्छेहरू जिउँदै भएको भन्दै कटाक्ष गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भने, ‘यो देशका आफूलाई ठूलो पार्टी भन्ठान्ने कही नेताहरु नेपालमा गणतन्त्र सम्भव छैन, गणतन्त्र आउँछ भन्नु र गोरुगाडा चढेर अमेरिका जान्छु भन्नु एउटै हो भन्ने मान्छे अहिले पनि ज्यूँदै छन् ।’

ओली अहिले पनि गणतन्त्र विरोधी नै भएको आरोप लगाउँदै प्रचण्डले सम्बोधनको क्रममा अघि भने, ‘तिनीहरू यो संविधान उल्ट्याउन चाहन्छन् । गणतन्त्र उल्ट्याउन चाहन्छन् ।’

सूर्यमा ग्रहण लागिसक्यो

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विध्वंसकारी पार्टी भएको आरोप लगाए । शनिबार गोरखाको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीलाई रावणको संज्ञा दिएका छन् ।

उनले नेकपाको एकता ओलीको षडयन्त्रका कारण भंग भएको तर्क गरे । ओलीले प्रचण्डको काँधमा टेकेर आफूलाई अग्लो देखाउन खोजेको नेता नेपालको टिप्पणी छ । ओलीले एमालेलाई निजी कम्पनीजस्तो भएको बताए ।

'एमाले अब एमाले रहेन, बि माले, सि माले भयो,’ उनले भने, ‘पटक–पटक भनेको छु सूर्यमा ग्रहण लागिसक्यो, काम नगर्ने, गफ मात्रै गर्ने गफाडी त्यहाँ छन् ।’

कांग्रेसलाई १३ सिटमा झारिदिने चेतावनी

एमाले ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिए । उनले त्यसै अनुसार चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको सम्पर्क समन्वय कमिटी कार्यक्रममा उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेसलाई भोट नहाल्ने दाबी गर्दै सुटुक्क प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्य चिह्नमा मत हाल्न भने ।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलले चेताइसकेको हुनाले युवाले पनि ती पार्टीलाई मत नदिने उनको तर्क थियो ।

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अव फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गरे ।

ओलीको बाकसमा ‘जिरो’ मत

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताए ।

संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय खनालको भनाइ थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दाबी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए ।

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरूबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

ओलीमा दुर्योधनभन्दा बढी घमण्ड

पर्यटनमन्त्री प्रेम आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न ओलीलाई चेतावनी दिए ।

ओलीकै घमण्डका कारण बामपन्थीको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको बताए ।

स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने आलेको तर्क थियो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री आलेले ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको आरोप लगाए ।

ओलीलाई शंकाको सुविधा पनि छैन

कांग्रेसका युवा नेता प्रदीप पौडेलले ओलीलाई अब शंकाको सुविधासमेत नभएको बताए । जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हान्ने नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने उनको भनाइ छ ।

शनिबार गृहजिल्ला तनहुँको ऋषिङ–६ को कार्यक्रममा बोल्दै उनले ओलीले जनतालाई बाँडेका सपना र गरेको प्रतिबद्धतालाई लात हानेको आरोप लगाए । उनले यस्तो नेतृत्वले मुलुकलाई समृद्धि दिन नसक्ने दाबी गरे ।

जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो ।

  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २१:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया