जनकपुरबाट प्रचण्डको जवाफ : मन्त्रिपरिषदमा ‘हैसियत’ खोज्नेदेखि एक्लै चुनाव लड्नेसम्म
सञ्चारकर्मीको प्रश्न : लोसपा पनि सरकारमा सहभागी हुँदै हो ?

चुनावी अभियानमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जनकपुर पुगेका छन् । देश दौडाहा कार्यक्रम नै तय गरेर लागेका प्रचण्ड मधेश प्रदेशको राजधानी पुगेर मन्त्रिपरिषद् हेरफेर हुने संकेत गरेका छन् । 

तर, अहिलेसम्म यो विषय औपचारिक रूपमा गठबन्धनभित्र नटुंगिएको उनको भनाइ छ । जनकपुर पुग्नुअघि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार जानुअघि उनले वीर अस्पताल पुगेर सहिद परिवारका बिरामी भक्त रानालाई भेटेका थिए । उनले त्यहाँ उपचारमा कुनै अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्रीसँग प्रचण्डको भेटबारे उनको सचिवालयले खासै धेरै जानकारी दिने गरेको छैन । तर, आज भने प्रचण्ड स्वकीय सचिवालयले प्रधानमन्त्रीसँगको भेटलगत्तै घाइते/अपाङ्गता भएका योद्धाहरूको सन्दर्भमा ध्यानाकर्षण गराइएको कुरा सार्वजनिक गर्‍यो । 

प्रधानमन्त्रीसँगको भेटपछि जनकपुर पुगेर प्रचण्डले केही नयाँ मन्त्रीसहित मन्त्रालय हेरफेर हुने सम्भावना भएको बताए । 

लोसपा सरकारमा सहभागी हुँदै हो ?



जनकपुरमा प्रचण्डलाई सञ्चारकर्मीले प्रश्नमाथि प्रश्न गरिरहे । प्रचण्डले पनि ती सबै प्रश्नहरूलाई आफू अनुकूल जवाफ दिए । ‘गठबन्धनको आकारलाई बढाउने कुरा आएको छ नि ? हामी गठबन्धनका लागि पनि तयार छौं भनेर लोसपाका अध्यक्षले भन्नुभएको छ ?’ प्रचण्डलाई सञ्चारकर्मीको प्रश्न थियो ।

लोसपाका नेताहरूले पनि प्रधानमन्त्रीसँगको छलफलबारे जानकारी दिइरहेका छन् । स्थानीय निर्वाचनअघि नै सरकारमा सहभागी हुनेगरी देउवासँगको संवाद अघि बढाएको लोसपाकै नेताहरूले बताउँदै आएका हुन् । गत शनिबार मात्रै कांग्रेस र जसपाका नेताबीच बालुवाटारमा भएको छलफलपछि तीन सदस्यीय कार्यदल नै बनाएर अनौपचारिक समझदारी भएको थियो । 



देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी बनाउन खोजेका छन् । लोसपाले ३ मन्त्रालय मागेको छ । देउवाले २ मन्त्रालयमा सहमतिको प्रयास गरेको बुझिएको छ । लोसपा सरकारमा सहभागी भएमा माओवादी र एसले हाल लिएको मन्त्रालयबाट एक एक घटाउने तयारी भएको बुझिएको छ ।

तर, प्रचण्डले भने यस विषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको बताएका छन । उनले भनेका छन्, ‘गठबन्धनभित्र यो विषय प्रवेश भएर अहिलेसम्म औपचारिक रूपमा प्रवेश भएको छैन । प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेट भइरहेको कुरा हामीलाई प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’

सरकारमा लोसपा सहभागी हुनेबारे अहिलेसम्म चर्चा नभएको भन्दै उनले भने, ‘तर, गठबन्धनमा सामेल गर्ने या अरू विषयमा अहिलेसम्म कुनै कुरा भएको छैन । सरकारमा सहभागिताका बारेमा पनि गठबन्धनभित्र अहिले हामीले कुनै चर्चा परिचर्चा गरेका छैनौं ।’

नारायणकाजीलाई साथमा राखेर मन्त्रिपरिषदमा ‘हैसियत’ दाबी

प्रचण्डले मन्त्रिपरिषद् हेरफेर हुँदै गरेको मात्र सार्वजनिक गरेनन्, माओवादीलाई हैसियतअनुसारको मन्त्रालय चाहिने पनि दाबी गरे । सो कुरा आफूले प्रधानमन्त्रीसमक्ष राखिसकेको पनि प्रचण्डले बताए । 

पछिल्लो समय पार्टीभित्र असन्तुष्टि राख्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई पनि सँगै लिएर हिँड्ने गरेका छन् प्रचण्डले । जनकपुरमा उनले यो प्रस्ताव राख्दा पनि श्रेष्ठ सँगै थिए । एमसिसी संसदबाट अनुमोदन भएको दिनलाई ‘कालो दिन’ को रुपमा घोषणा गरेका श्रेष्ठलाई फकाएर प्रचण्ड चुनावी अभियानमा होमिएका थिए । 

पार्टी विवाद मत्थर गर्ने उपायस्वरूप प्रचण्डले नारायणकाजीलाई केही मन्त्रालयसहित पार्टीमा महत्वपूर्ण जिम्मेवारीको आश्वासन दिएको चर्चा माओवादी वृत्तमा चलिसकेको छ । प्रधानमन्त्रीसँग आफ्ना माग राखेर जनकपुर पुगेका प्रचण्डले श्रेष्ठकै अघि हैसियत अनुसार मन्त्रालय मागेको दाबी गरेर आफू अनुकुल बनाउन प्रयास गरेको हुनसक्छन ।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ । तर अहिलेसम्म औपचारिक रूपमा टुंगिएको छैन,’ नयाँ मन्त्रीहरू आउने सम्भावना खोतल्दै प्रचण्डले अगाडि भने, ‘सम्भावना चाहिँ केही मन्त्रालय हेरफेर हुने खालको छ । केही नयाँ आउने सम्भावना पनि छ ।’

उनले माओवादी केन्द्रले यसअघि प्रधानमन्त्री र माधव नेपाललाई सहयोग मात्रै गरेको भन्दै यो पटक माओवादीबाट मन्त्री हैसियतअनुसार पाउनुपर्ने बताए । ‘मैले प्रधानमन्त्रीजीसँग सबैभन्दा ठूलो त्याग माओवादी केन्द्रले गरेको छ भनेर भनेको छु,’ प्रचण्डले भने, ‘हामी जति पाउनुपर्ने त्यति हामी हिजो प्रधानमन्त्रीको पार्टीको महाधिवेशनसम्म मलाई सहयोग गर्नुपर्यो भनेर जोड गरिरहेको, माधव जीको पनि म त भर्खर नयाँ पार्टी बनाएको मलाई दुःख छ मलाई सहयोग गर्नुपर्यो भनेको हुनाले सहयोग गर्ने जति सबै काम माओवादी केन्द्रकै हुने गरेको छ ।’

प्रचण्डले अघि भने, ‘तपाईंहरू थाहा पाइराख्नुभएको छ, प्रधानमन्त्री बनाउने काम पनि माओवादी केन्द्रले नै गर्छ । अरुलाई सहयोग गर्ने पनि गरिराखेको छ । तर अहिले मन्त्रिमण्डलमा हेरफेर हुने स्थिति आयो भने हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भनेर भनेका छौं । उहाँ सहमति पनि हुनुहुन्छ ।’

‘गठबन्धनमा तिक्तता छैन, माओवादी आफ्नै बलमा उभिन्छ’ 

प्रचण्डले अहिले सत्तारुढ गठबन्धनमा कुनै तित्तता नरहेको बताए । ‘कांग्रेसका नेताहरू त धेरै थरी कुरा गरिरहेका छन् । माओवादी नजित्ने भएपछि गठबन्धनको कुरा गरिरहेको?’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यस्तो छैन, गठबन्धनमा नेतृत्व तहमा कुनै तिक्तता पनि छैन । माओवादी केन्द्र चुनाव नजित्ने भएकाले गठबन्धन गर्नु परेको पनि माओवादीलाई छैन ।’

साथै, प्रचण्डले यसबीचमा देशभरबाट देखिएको गतिविधिका आधारमा माओवादी आफ्नै तागतमा निर्वाचनमा होमिने दाबी पनि गरे । ‘यो बीचमा देशभित्र जति माओवादी केन्द्रका गतिविधि भइरहेका छन्, हामी आफ्नो खुट्टामा उभिएर आफ्नै तागतको बलमा चुनावको परिणाम ल्याउने कुरामा केन्द्रित छौं ।’

गठबन्धन बनाउन पनि आफूहरूकै नेतृत्वदायी भूमिका रहेको प्रचण्डले बताए । ‘हामी गठबन्धन बनाउनेमा पनि माओवादी केन्द्रकै झण्डै झण्डै नेतृत्वमा बनेको हो । गठबन्धन बनेको चुनावको लागि थिएन । यो लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाइएको हो,’ उनले भने ।

  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १३:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया