माओवादीले जिते मात्र संघीयताको रक्षा हुनेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचन माओवादीका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । आफूहरूले जिते मात्र संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा हुने उल्लेख गर्दै उनले आउँदो चुनावमा माओवादीले जित्नुपर्ने बताएका हुन् ।

‘निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ तर हाम्रो लागि यो निर्वाचन सामान्य चुनाव मात्र होइन । माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ । माडीलाई एउटा उदाहरण बनाउनुस्,’ आज चितवनको माडीमा नेता/कार्यकर्तासँगको छलफलमा प्रचण्डले भने ।  

उनले राष्ट्रिय महाधिवेशनसम्म आउँदा ८ लाख पार्टी सदस्य भएको पनि दाबी गरे । प्रचण्डले अहिले पनि नेकपा एमाले प्रतिगमनकै पक्षमा रहेको पनि दोहोर्याए । ‘दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्यौं । आज पनि त्यो शक्ति षड्यन्त्र जारी राखेको छ । आज पनि सदन चल्न दिइएको छैन । त्यो प्रतिगमनकै एउटा कडी हो,’ प्रचण्डले भने ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै अहिले प्रचण्ड देश दौडाहामा छन् । यसैक्रममा उनी आज आफ्नो गृहजिल्ला चितवनको माडी पुगेका हुन् । त्यहाँ उनले जनयुद्धका शहीद परिवारसँग भेटघाटदेखि भइरहेका विकास निर्माणको निरीक्षण गरेका छन् । 

साथै, उनले चेपाङ बस्तीमा पुगेर केही विकास निर्माणका कामको उद्घाटनदेखि अन्तरक्रिया पनि गरेका छन् । भेटघाटमा उनले आफूले गरेका केही वाचा पूरा भएको र बाँकी विकास निर्माणका काम छिट्टै सकिने बताए ।



‘जुन सडक मैले शिलान्यास गरेको थिए त्यो उद्घाटन गरे । दुई पुल सम्पन्न भइसकेका छन । एउटा आजै उद्घाटन गरे । ११ प्रक्रियामा अन्तिम चरणमा छन्,’ प्रचण्डले भने ।

साथै, उनले पार्टी महाधिवेशनको बारेमा पनि माडीमा रहेका माओवादी नेता/कार्यकर्तालाई जानकारी गराए । ‘यो वर्ष सबै पार्टीको महाधिवेशन वर्ष रह्यो । अरूको भन्दा हाम्रो महाधिवेशन भिन्न रह्यो किनकि हामीले राजनीतिक विचार र कार्यदिशा निर्माणका क्षेत्रमा व्यापक बहस सञ्चालन गर्दै मानव जातिको भलाइ को लागि सर्वहारावादी कम्युनिस्ट पार्टीले लिने नीतिबारे छलफल बहस गरियो,’ प्रचण्डले भने । 



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १३:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया